Modern technology gives us many things.

नेपाल दलित संघर्ष समिति बाराको जिल्ला स्तरीय भेला सम्पन्न

कलैया, २६ पौष
नेपाल दलित संघर्ष समिति बारा द्वारा आयोजित जिल्ला स्तरीय भेला शनिबार कलैयामा सम्पन्न भएको छ । भेलाको अध्यक्षता नेपाल दलित संघर्ष समिति बारा का अध्यक्ष शिवदयाल पासवानले गर्नुभएको थियो ।
भेलामा अमिर नेटुईन, शर्मा बैठा, रामशरण पासवान, देवलाल पासवान, राजदेव पासवान, रघुनाथ दास, सुदन दास, भदै राम, महेश विश्वकर्मालगायत दलित समुदायका अगुवा, युवा नेता तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै दलित युवा नेता तथा नेपाल दलित संघर्ष समिति बारा का सह–संयोजक तेजनारायण रामले देशमा भएका हरेक परिवर्तनकारी आन्दोलनमा दलित समुदायको ऐतिहासिक र प्रशंसनीय भूमिका रहेको बताउनुभयो । माओवादी विद्रोह, जनआन्दोलन तथा मधेश आन्दोलनमा दलित समुदाय अग्रपंक्तिमा रहेर संघर्ष गरे पनि आजसम्म मनुवादी तथा बाहुनवादी सोचका कारण दलित समुदाय विभिन्न प्रकारका अन्याय र पीडाबाट मुक्त हुन नसकेको उहाँको भनाइ थियो ।
उहाँले दलित समुदाय सामाजिक बहिष्कारको सिकार भइरहेको, चेलीबेटीमाथि बलात्कार जस्ता जघन्य घटनाहरू भइरहेकाले समुदाय थप पीडित बन्नुपरेको यथार्थ प्रस्तुत गर्नुभयो । साथै आफ्ना हक, अधिकार र न्यायका लागि आवाज उठाउँदा दलित युवाहरू कुटपिट, दमन र अपमानित जीवन जिउन बाध्य बनाइएको अवस्था रहेको पनि उल्लेख गर्नुभयो ।
सह–संयोजक रामले अब दलित समुदाय कुनै पनि किसिमको लोभ–लालचमा नपरी दारु–मासु जस्ता प्रलोभन अस्वीकार गर्दै आफ्नो हक, हित र अधिकारको संरक्षण गर्ने नेता र राजनीतिक शक्तिलाई एकजुट भएर समर्थन गर्नुपर्नेमा जोड दिनुभयो ।
भेलाले आगामी कार्यक्रमहरू समेत तय गरेको छ । निर्णयअनुसार नेपाल दलित संघर्ष समिति बारा को आयोजनामा कलैया उपमहानगरपालिकास्तरीय नगर भेला मिति २०८२ साल माघ १० गते शनिबार आयोजना गरिनेछ । त्यसैगरी पचरौता नगर समितिको नगर भेला मिति २०८२ साल माघ ३ गते शनिबार गर्ने निर्णय पनि भेलाले गरेको छ ।
भेलाले दलित समुदायको अधिकार, सम्मान र न्यायका लागि संगठित संघर्षलाई अझ सशक्त बनाउँदै अघि बढ्ने प्रतिबद्धतासहित कार्यक्रम समापन गरिएको थियो ।
Leave A Reply

Your email address will not be published.