नक्कली भिखारी गिरोहका कारण समाजको आर्थिक तथा सामाजिक अवस्था प्रभावित
बारा, २८ पौष
बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर–१० स्थित देवापुर टेटा टोलमा विगत लामो समयदेखि नक्कली भिखारीको गिरोह सक्रिय रहँदै आएको स्थानीयवासीहरूले गुनासो गरेका छन्। स्थानीयका अनुसार उक्त गिरोहले भिख माग्ने बाहनामा संगठित रूपमा अवैध गतिविधि गर्दै समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको छ।
स्थानीयको आरोप अनुसार सो गिरोहले कानुनको आँखामा छारो हाल्दै भित्रभित्रै राष्ट्रिय पशुपन्छी तथा अन्य संरक्षित जीवजन्तुको अवैध सिकार गरी भारततर्फ बिक्री वितरण गर्दै आएको छ। यसका साथै चराचुरुङ्गीको हत्या तथा विनाश गर्ने गतिविधि समेत तीव्र रूपमा बढ्दै गएको बताइएको छ, जसले जैविक विविधतामाथि समेत गम्भीर असर पारेको छ।
Related Posts
स्थानीयवासीहरूका अनुसार दिनभर महिलाहरू विभिन्न स्थानमा भिख माग्ने कार्यमा संलग्न रहने र पुरुष सदस्यहरू जाँड–रक्सी सेवन तथा जुवातास खेल्ने जस्ता गतिविधिमा व्यस्त रहने गरेका छन्। उनीहरूले नेपाली बा १४ च ५०६७ नम्बरको गाडी प्रयोग गरी ‘सिरकी’ तानेर अपांग वा असहायजस्तो हुलिया बनाई समूहगत रूपमा भिख माग्ने गरेको आरोप समेत लगाइएको छ।
नक्कली भिखारीको गतिविधि बढ्दै जाँदा वास्तविक रूपमा गरिब, असहाय र पीडित वर्ग भने ओझेलमा परेको स्थानीयको भनाइ छ। समाजको सहानुभूति र सहयोग नक्कली गिरोहमा केन्द्रित हुँदा वास्तविक पीडितहरू थप समस्यामा परेको अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ।
यसप्रकारका अवैध तथा अनैतिक गतिविधिले समाजको आर्थिक, सामाजिक र नैतिक संरचनामाथि नकारात्मक प्रभाव पारिरहेको स्थानीयवासीहरूले बताएका छन्। उनीहरूले यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै शीघ्र छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
स्थानीय तह, प्रहरी प्रशासन तथा सरोकारवाला निकायले समयमै ध्यान नदिने हो भने यस्ता गिरोहका गतिविधि अझ फैलिने खतरा रहेको भन्दै स्थानीयवासीहरू चिन्तित देखिएका छन्।