Modern technology gives us many things.

शिक्षा, स्वास्थ्य, पूर्वाधार र भन्सार कार्यालय सञ्चालन प्राथमिकतामा : चन्दन सिंह 

बारा, २५ माघ

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार चन्दन कुमार सिंहले बारा २ को समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्। बारा जिल्लाको कवहिगोठ स्थित सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उम्मेदवार सिंहले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा भन्सार कार्यालय सञ्चालनलाई आफ्नो प्रमुख एजेन्डा बनाएको स्पष्ट पारे।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, युवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सो अवसरमा बोल्दै सिंहले बारा २ लामो समयदेखि विकासका दृष्टिले पछि परेको क्षेत्र भएको उल्लेख गर्दै अब परम्परागत राजनीति र भाषणले मात्र परिवर्तन सम्भव नभएको बताए। “बारा २ लाई शिक्षा, स्वास्थ्य र पूर्वाधारमा आत्मनिर्भर बनाउन नयाँ सोच र इमानदार नेतृत्व आवश्यक छ,” उनले भने।

उम्मेदवार सिंहले विगतका राजनीतिक दलहरूले विकासभन्दा पनि सत्ता र स्वार्थलाई प्राथमिकता दिँदै आएको आरोप लगाए। उनका अनुसार भ्रष्टाचार, कुशासन र पहुँचको राजनीतिले देश र जिल्लाको वास्तविक विकास अवरुद्ध भएको छ। “पुराना दलहरूले शासन त गरे, तर सुशासन दिन सकेनन्,” सिंहले भने, “त्यसैले देश र समाजमा देखिएको परिवर्तनको चाहनालाई आत्मसात गर्दै मैले उम्मेदवारी दिएको हुँ।”

उनले बारा क्षेत्र नम्बर २ मा भन्सार कार्यालय सञ्चालन गरिनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यसले स्थानीय आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने र राजस्व संकलनमा टेवा पुर्‍याउने बताए। त्यस्तै, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र दिगो पूर्वाधार विकास बिना समृद्ध बारा निर्माण सम्भव नहुने उनको धारणा थियो।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले पनि बारा २ ले नयाँ र जवाफदेही नेतृत्व खोजिरहेको बताएका छन्। युवाहरूको सक्रिय सहभागिता देखिएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दै गएको संकेतसमेत देखिएको थियो। समर्थकहरूले “अब पुरानो राजनीति होइन, नयाँ विकल्प चाहिन्छ” भन्ने नारा समेत उठाएका थिए।

सम्पर्क कार्यालय उद्घाटनसँगै उम्मेदवार सिंहले घरदैलो अभियानलाई तीव्र बनाउने जानकारी दिए। उनले चुनावी अभियानका क्रममा जनताको घर–आँगनमै पुगेर समस्या सुन्ने र समाधानका लागि स्पष्ट योजना प्रस्तुत गर्ने प्रतिबद्धता जनाए।

आगामी निर्वाचनमा बारा २ को भविष्य कुन दिशामा जाने भन्ने निर्णय मतदाताको हातमा रहेको उल्लेख गर्दै सिंहले विकास, पारदर्शिता र जवाफदेहिताका पक्षमा मत दिन मतदातालाई आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.