व्यवहारिक विकासको खाका बोकेर मैदानमा इन्जिनियर उम्मेदवार अरविन्द साह
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा बारा र पर्सा क्षेत्रको राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। चिसो मौसम र कुहिरोले जनजीवन प्रभावित भए पनि चुनावी माहोलले तराई–मधेश तातिएको देखिन्छ। यही क्रममा बारा निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार इन्जिनियर अरविन्द साह जनताको घरदैलोमै पुगेर मत माग्ने अभियानमा सक्रिय छन्।
सधैंझैँ सोमबार पनि साह बिहानैदेखि कलैया उपमहानगरपालिका वडा नं. १८ मंगढवाका बस्तीहरूमा देखिए। स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफू कुनै “ठूलो सपना बेच्ने नेता होइन, समस्या बुझ्ने सेवक” भएको बताए। “म यही माटोमा हुर्किएको इन्जिनियर हुँ। तपाईँहरूको समस्या कागजमा होइन, व्यवहारमै समाधान गर्ने प्रतिबद्धता लिएर आएको छु,” उनले मतदातासँग भने।
उनको चुनावी अभियानको मुख्य विशेषता ठूला भाषणभन्दा पनि सिधा संवाद र सुझाव संकलन रहेको छ। सडक, खानेपानी, सिँचाइ, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा राज्यको भूमिका प्रभावकारी बनाउने उनको एजेन्डा छ। विशेषगरी युवालाई सीपमूलक तालिम र स्थानीय रोजगारी सिर्जनामा जोड दिँदै “विदेश जाने बाध्यता घटाउने नीति निर्माणमा संसदबाट आवाज उठाउने” उनको प्रतिबद्धता छ।
Related Posts
इन्जिनियर पृष्ठभूमिका कारण पूर्वाधार विकासमा स्पष्ट दृष्टिकोण रहेको बताउँदै साहले योजनाबद्ध विकासबिना परिवर्तन सम्भव नहुने धारणा राखे। “बजेट आउँछ, तर योजना गलत हुँदा विकास देखिँदैन। म त्यो कमजोरी सच्याउन चाहन्छु,” उनले स्थानीयसँगको छलफलमा उल्लेख गरे।
यसअघि पनि उनले जितपुर–सिमरा, परवानीपुर, कलैया लगायतका विभिन्न स्थानमा घरदैलो, युवा संवाद र समुदायस्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिसकेका छन्। मतदाताबाट आएका सुझावलाई नीतिगत बहसमा रूपान्तरण गर्ने र संसदमा प्रभावकारी रूपमा उठाउने उनको कार्यशैलीलाई धेरैले ‘नयाँ र फरक’ रूपमा हेर्न थालेका छन्।
परम्परागत राजनीतिक शैलीभन्दा बाहिर निस्केर जनताको दैनिक जीवनसँग जोडिएका मुद्दामा केन्द्रित साहको अभियानले बारा–३ मा चुनावी प्रतिस्पर्धालाई थप चासोको विषय बनाएको छ।