आचारसंहिता उल्लंघनप्रति गम्भीर बन्न आग्रह, जनताको सेवककै रूपमा रहने प्रतिबद्धता : रामबाबु यादव
निर्वाचन आचारसंहिता उल्लंघनका घटनालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको जनता समाजवादी पार्टी (जसपा) बाट बारा क्षेत्र नं. ३ का उम्मेदवार रामबाबु यादवले बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता पालनामा सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे।
यादवले आचारसंहिता उल्लंघनका घटनाले निर्वाचन प्रक्रियामाथि प्रश्न उठ्ने भएकाले सम्बन्धित निकायले यस्ता विषयलाई गम्भीरतापूर्वक लिएर तत्काल कारबाही गर्नुपर्ने बताए। उनले कानुनको पालना र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण नै निष्पक्ष निर्वाचनको आधार भएको उल्लेख गरे।
Related Posts
आफ्नो राजनीतिक यात्राबारे चर्चा गर्दै यादवले २०७४ सालको निर्वाचनमा निर्वाचित भए पनि आफू बारा–३ सहित सम्पूर्ण बाराका जनताकै बीचमा निरन्तर रहेको बताए। २०७९ को निर्वाचनमा पराजित भए तापनि जनतासँगको सम्बन्ध र सेवाभाव कहिल्यै टुट्न नदिएको उनको भनाइ थियो।
“निर्वाचित होस् वा पराजित, म सधैं जनताकै सेवक हुँ,” यादवले भने, “जनताको दुःख–सुखमा साथ दिनु नै मेरो राजनीतिक धर्म हो।”
पत्रकारहरूसँगको कुराकानीमा उनले आगामी निर्वाचनमा पनि जनताको विश्वास र समर्थनका आधारमा अघि बढ्ने विश्वास व्यक्त गरे। साथै, विकास, सुशासन र जनअधिकारको मुद्दालाई केन्द्रमा राखेर चुनावी अभियान सञ्चालन गरिरहेको जानकारी दिए।