पर्साको सिर्सिया, अलौ र कोनिया नाकाबाट व्यापक तस्करी: स्थानीयको आरोप, ‘प्रहरीकै संरक्षणमा लाइन क्लियर
१० असार, वीरगन्ज । पर्सा जिल्लाको सीमावर्ती क्षेत्रहरूबाट विभिन्न प्रतिबन्धित तथा गैरकानूनी सामग्रीहरूको तस्करी तीव्र रूपमा बढेको पाइएको छ। पर्सा जिल्लाको प्रहरी चौकी सिर्सिया र मातहतका नाकाहरूको प्रत्यक्ष संलग्नता र संरक्षणमा तस्करी फस्टाएको भन्दै स्थानीय बासिन्दाहरूले गम्भीर आरोप लगाएका छन्।
स्थानीय स्रोतका अनुसार, सिर्सिया, अलौ र कोनिया जस्ता संवेदनशील नाकाहरूलाई प्रयोग गरी तस्करहरूले दैनिक रूपमा लाखौँ मूल्यका कपडा, हार्डवेयर, खाद्यान्न, गाडीका पार्टपुर्जा र वीरगन्ज क्षेत्रमा प्रतिबन्धित माछा समेत नेपाल-भारत सीमा वारपार गराइरहेका छन्।
नाका अनुसार तस्करको रजगज: कवाडको नाममा इन्जिन र गियर बक्स
सिर्सिया नाका (वार्ड नं. २५): यस नाकाबाट विजय नामक व्यक्तिले कवाड (कबाडी सामान) को आवरणमा ट्रकको इन्जिन र गियर बक्स जस्ता महँगा सामानहरू भारतबाट नेपाल भित्र्याउने गरेको स्थानीयले नाम नखुलाउने सर्तमा बताएका छन्। यस्तै, बैजु र प्रदीप लगायतका व्यक्तिहरूले कपडा, हार्डवेयर र खाद्यान्न सामग्रीको अवैध ओसारपसार गरिरहेका छन्। साना तस्करहरूले भने साइकलको प्रयोग गरी दैनिक रूपमा घरायसी तथा अन्य सामान ओसार्ने गरेका छन्।
अलौ नाका: यो नाका मोबिल र कपडा तस्करीको अखडा बनेको दाबी गरिएको छ। सुरेश नामक व्यक्तिले मोबिल, रामबाबु र श्यामबाबुले माछा, ओसारपसार गर्दै आएका छन्।
तस्तै छपकैया नाका बाट मन्जु नामक बेक्तीको समुहले कपडा तस्करी गर्दै आएको स्रोतले बताउन्छन। उक्त समुह जहिले पनि पटक पटक विवादमा घिस्दै आएको एकजना तस्करले नै नाम नखोल्ने सर्तमा बताएका छन्। त्यस्तै, जटाधारी नामक व्यक्तिले नेपालबाट क्रिम-पेस्ट भारततर्फ लैजाने र भारतबाट अन्य सामान नेपाल भित्र्याउने कार्य गरिरहेका छन्।
कोनिया नाका: यस नाकाबाट विनय र भिखारी नामक व्यक्तिहरूले ट्रकको गियर बक्स र हार्डवेयरजन्य सामग्रीहरूको अवैध ओसारपसारलाई निरन्तरता दिँदै आएका छन्।
सशस्त्र प्रहरीद्वारा सामान बरामद, जनपद प्रहरी भने मौन?
सशस्त्र प्रहरीले कडाइ गरिरहँदा स्थानीय जनपद प्रहरी (प्रहरी चौकी सिर्सिया) को भूमिकामाथि भने स्थानीयले गम्भीर प्रश्न उठाएका छन्।
असुली र सेटिङको आरोप: ‘कमाण्डरको ग्रीन सिग्नल, जवानको असुली’
तस्करी यसरी फस्टाउनुको पछाडि प्रहरी चौकी सिर्सियाका इन्चार्ज एवं प्रहरी वरिष्ठ नायब निरीक्षक (सइ) मानबहादुर जिम्बा र उनका विश्वासपात्र प्रहरी सहायक हल्दार मनिष मगरको प्रत्यक्ष मिलोमतो रहेको स्थानीयको आरोप छ।
”प्रहरी वरिष्ठ नायब निरीक्षक जिम्बाले ‘ग्रीन सिग्नल’ (अनुमति) दिएपछि प्रहरी सहायक हवलदार मनिष मगरले सीमा क्षेत्रका तस्करहरूसँग सेटिङ मिलाउने गरेका छन्,” स्रोतले दाबी गर्यो, “तस्करहरूसँग सुमधुर सम्बन्ध बनाएका मगरले समयमै आर्थिक असुली (लाइन क्लियर) गर्ने जिम्मेवारी पाएका छन्।”
प्रहरीकै सेटिङका कारण सीमा क्षेत्रमा राजस्व चुहावट तीव्र रूपमा बढेको र यसले वैध रूपमा व्यवसाय गर्ने स्थानीय व्यापारीहरू मारमा परेका छन्। यस विषयमा माथिल्लो निकाय र जिल्ला प्रहरी कार्यालय पर्साले तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग स्थानीयवासीको छ।