’मिलन राष्ट्रिय दैनिक’ को बार्गेनिङ धन्दा : आर्थिक असुली नभएपछि प्रहरीको चरित्र हत्या गर्दै भ्रामक समाचार
बारा कलैया । अजित कुमार
बाराको दक्षिणी सिमानामा पर्ने बसतपुर र झिट्कैया नाकालाई जोडेर ‘मिलन राष्ट्रिय दैनिक’ ले सम्प्रेषण गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ। “दक्षिणी सिमानाका बसतपुर र झिट्कैया भएर अबैध मालसामान तस्करी” शीर्षकमा छापिएको उक्त समाचार सत्यतथ्यमा आधारित नभई, विशुद्ध आर्थिक असुली (बार्गेनिङ) नमिलेपछि पूर्वाग्रही ढङ्गले सुरक्षाकर्मीको चरित्र हत्या गर्ने उद्देश्यले लेखिएको तथ्य बाहिर आएको छ।
बार्गेनिङको त्यो फोन कल र असईको अडान
प्राप्त जानकारी अनुसार, उक्त समाचार प्रकाशित हुनुभन्दा एक दिन अगाडि मात्र ‘मिलन राष्ट्रिय दैनिक’ का कार्यकारी सम्पादक नरेश गुप्ताले प्रहरी चौकी बसतपुरका प्रहरी सहायक निरीक्षक (असई) रामजनम यादवलाई फोन गरेका थिए। फोन संवादमा प्रकाशक गुप्ताले “के छ तपाईँतिरबाट ?” भन्दै ठाडै बार्गेनिङ गर्ने शैलीमा प्रस्तुत भएका थिए।
तर, आफ्नो कर्तव्यप्रति निष्ठावान् असई यादवले “हामी यहाँ जनताको सेवा गर्न आएका हौं, हाम्रो तिरबाट कुनै किसिमको अवैध गतिविधि भएको छैन र हुँदैन” भन्दै कडा जवाफ फर्काए। आफ्नो आर्थिक स्वार्थ र असुलीको योजना विफल हुने देखेपछि, ती सञ्चारकर्मीले भोलिपल्टै प्रहरीको मिलोमतोमा तस्करी भइरहेको भन्दै कपोलकल्पित र भ्रामक समाचार छापेर चरित्र हत्या गर्ने दुष्प्रयास गरेको प्रष्ट भएको छ।
प्रमाणित गर्न चुनौती
आफूमाथि लगाइएको झुटो आरोपको खण्डन गर्दै प्रहरी सहायक निरीक्षक यादवले ती सञ्चारकर्मीलाई कडा चुनौती दिएका छन्। उनले भनेका छन्, “मेरो एरियाबाट यदि कुनै किसिमको अवैध गतिविधि भएको हो भने सप्रमाण लिएर आउनुस्, म जस्तोसुकै कारबाही भोग्न तयार छु। नत्र आफ्नो स्वार्थ पूरा नभएको झोकमा बिना प्रमाण अरुको चरित्र हत्या गर्ने काम नगर्नुस्।”
गृहमन्त्रीको एक्सन र खुला सिमानाको चुनौती
अहिलेको वर्तमान अवस्थामा गृहमन्त्रीको कडा निर्देशनमा बारा र पर्सा जिल्लामा पटकपटक अनुगमन भइरहेको छ। सम्बन्धित निकाय, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उच्च अधिकारीहरू अवैध गतिविधि नियन्त्रण गर्न दिनरात खटिएका छन्। माथिल्लो निकायको कडा निगरानी र कारबाही हुने डरले तस्करहरू मात्र होइन, सुरक्षा संयन्त्रसमेत उच्च सतर्कतामा (सातो उडेको अवस्थामा) छ। प्रहरी प्रमुखहरूबाट अवैध गतिविधिलाई जरैदेखि उखेल्न अधिकतम प्रयास भइरहेको छ।
यद्यपि, नेपाल र भारतबीचको खुला सिमानाका कारण सुरक्षा निकायले जतिसुकै कडा प्रयास गर्दा पनि फाट्टफुट्ट केही अवैध गतिविधिहरू लुकिछिपी सक्रिय हुन खोज्ने चुनौती भने कायमै छ, जसलाई निस्तेज पार्न प्रहरी लागिपरेको छ। तर, यसैको फाइदा उठाउँदै प्रहरीकै मिलोमतोमा तस्करी भइरहेको छ भन्नु र बार्गेनिङ नमिलेपछि समाचार लेख्नु सरासर झुट र बदनियतपूर्ण कदम हो।
पत्रकारिता कि असुलीको हतियार ?
सञ्चारकर्मीको दायित्व खोजमूलक समाचार लेख्ने र समाजका सत्यतथ्य उजागर गर्ने हो। तर, समाजको ऐना मानिने पत्रकारिता पेशालाई नै बदनाम गर्दै केही सञ्चारकर्मीले यसलाई ‘आर्थिक असुली गर्ने हतियार’ बनाएको यस घटनाले पुष्टि गरेको छ। सत्य र तथ्यको धरातलमा उभिएर समाचार लेख्नुपर्नेमा, खल्ती भर्ने नियतले लेखिएका यस्ता पीत पत्रकारिताले प्रेस स्वतन्त्रताकै धज्जी उडाएको छ। यस्ता भ्रामक, बार्गेनिङमा आधारित र ब्ल्याकमेलिङ गर्ने समाचारको भ्रममा नपर्न आम जनसमुदायमा आग्रह गरिन्छ।