गत वर्षजस्तै यस वर्ष पनि बर्खामा देशभर अत्यधिक वर्षा हुने प्रक्षेपण गरिएको छ । ३१ जेठअघि नै मनसुन भित्रिन सक्ने सम्भावना रहेको र सुरुवातमै सक्रिय हुने संकेत देखिएकाले बाढी, पहिरो तथा मौसमजन्य अन्य विपत्को जोखिम उच्च हुन सक्छ । यसपालि प्रारम्भिक चरणमा केही दिनको वर्षापछि लामो समयसम्म खडेरी र सुक्खा हुने अवस्थासमेत देखिने अनुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार १८ जेठदेखि १४ असोजसम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ । यस्तै, यस अवधिमा अधिकतम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने सम्भावना छ । सम्भावित अवस्थाको आकलन सरकारका लागि ‘पूर्वतयारीको साइरन’ भएको विज्ञ बताउँछन् ।
मापन केन्द्रअनुसार फरक–फरक हुने भए पनि नेपालमा मनसुन याममा एक हजार ३६९.१ मिलिमिटर वर्षा हुनुलाई औसत वर्षा मानिन्छ । गत वर्ष मनसुनमा औसत एक हजार ६७०.७ मिलिमिटर पानी परेको थियो । बुधबार सार्वजनिक गरिएको मनसुनको चार महिनाको ऋतुगत आकलनअनुसार कर्णालीको पूर्वी भूभाग, लुम्बिनीको उत्तरी भाग र गण्डकीका अधिकांश क्षेत्रमा औसतभन्दा धेरै वर्षाको सम्भावना छ । मध्य र पूर्वी तराईका केही जिल्लाबाहेक अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान छ ।
‘समग्रमा तराईका चार–पाँच जिल्लाबाहेक देशभर नै सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएको छ । तर, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा विशेष ध्यान दिनु आवश्यक छ,’ जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले भने, ‘पोहोर पूर्वसूचनाका कारण कञ्चनपुरमा रेकर्डब्रेक वर्षाले पनि मानवीय क्षति हुन पाएन । तर, पूर्वसूचना हुँदाहुँदै ख्याल नगर्दा काठमाडौंलगायत क्षेत्रमा ठुलो क्षति भयो । यसपालि त्यस्तो नहोस् भनेर सबै सजग हुन जरुरी छ ।’
औसत वा औसतहाराहारी वर्षा हुने क्षेत्र विशेष गरी तराई क्षेत्रमध्येमा भएकाले उत्तरबाट बगेर आउने बाढीले डुबानको असर पर्न सक्ने आकलन छ । नेपालमा सामान्यतः जेठ अन्तिम साता अर्थात् १३ जुनमा मनसुन भित्रिन्छ भने २ अक्टोबरसम्म रहन्छ । तर, कहिले मनसुन भित्रिन्छ र सुरुवाती अवस्था कस्तो हुन्छ भनेर नेपालले प्रक्षेपण गर्न भने सकेको छैन । नेपाल मात्र होइन, यसपटक दक्षिण एसियाली मुलुकमै औसतभन्दा धेरै वर्षाको आकलन दक्षिण एसियाली मौसम आउटलुक फोरम (सास्कोफ) ले गरेको थियो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पोहोर बर्खामा पहिरोमा ३५१ र बाढीबाट ९७ जनाले ज्यान गुमाएका थिए ।
प्रवृत्ति पनि फेरिएको छ,’ उप्रेतीले भने, ‘पछिल्ला वर्षमा स्थानीय र प्रदेश सरकार आएपछि पूर्वाधार निर्माण अझ बढेको छ । तर, यसले अध्ययनविना नै खनिएका सडकले पहिरो खस्दा पनि बर्खामा जोखिम अझ बढिरहेको हो ।’
पोहोर मध्य असोजको बाढीले राजधानीसँगको सडक सञ्जाल नै अवरुद्ध भएको उदाहरण दिँदै उप्रेतीले पूर्वतयारीका काम चुस्त बनाउनुपर्ने बताए । ‘सडक अवरुद्ध हुन सक्ने जोखिम उत्तिकै हुन्छ । त्यही भएर सरकारले दुर्गम क्षेत्रमा अत्यावश्यक सेवासहित खाद्यान्न ढुवानी गर्न ढिला गर्नुहुँदैन । स्थानीय सरकारलाई बढी उत्तरदायी बनाउने, विपत् व्यवस्थापन समितिलाई सक्रिय बनाउने र विपत् प्राधिकरणबाट सूचना प्रवाह चुस्त बनाउनुपर्छ,’ विपत् व्यवस्थापनविज्ञ उप्रेतीले भने ।
कहाँ पुग्यो मनसुन, कहिले आउँछ नेपाल ?
यसपटक औसतभन्दा नौ दिनअघि १३ मेमा दक्षिण एसियाली मनसुन सुरु भएको छ । भारतको जल तथा मौसम विज्ञानले बुधबार बुलेटिन जारी गर्दै आगामी चार–पाँच दिनमा केरला क्षेत्रमा मनसुन पुग्ने आकलन गरिसकेको छ । हाल दक्षिण अरब सागरका केही क्षेत्र र मालदीपका दुईतिहाइ क्षेत्रमा मनसुन पुगिसकेको छ ।
केरलामा ३० मेमा मनसुन पुगेमा नेपालको पूर्वी भेगमा औसत अर्थात् १३ जुनहाराहारीमा मनसुन आगमन हुने आकलन गरिन्छ । तर, यसपटक औसतभन्दा अगाडि नै मनसुन उत्पन्न भएकाले अबको १३–१४ दिनमा मनसुन पुग्न सक्ने आकलन एकथरी मौसमविद्ले गरेका छन् । तर, मनसुनी हावा कहिले आइपुग्छ भनेर अहिले नै भन्न नसकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन भनेको हावा बहने दिशाको अथवा हावाको दिशा परिवर्तन हुनु हो । यसरी दिशा परिवर्तन गरेर आएको हावा (मनसुन)ले भारी वर्षा वा सुक्खा पनि गराउन सक्छ । मनसुनी हावा सधैँ चिसोबाट तातो ठाउँतिर बहन्छ । हिन्द महासागरको पानी वाष्पीकरण भएर अथवा बाफ बनेर हावामा मिसिन्छ । यसरी बाफसहितको हावा भारत, नेपाल, श्रीलंका र बंगलादेशलगायतका देशतर्फ बहन्छ । त्यहाँ पुगेपछि तातो हावा चिसिन्छ र पानी पार्छ ।