काठमाडौँ, साउन २० :सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदका लागि बढुवा सिफारिस गरिएको छ। संगठनको वृत्तिविकास तथा सुरक्षाकर्मीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यका साथ बढुवा प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डिआईजी कालिदास धौवजीले जानकारी दिएका छन्।
बढुवाका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा १ जना तथा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा ४८ जनाको नाम सिफारिस गरिएको हो।
धौवजीका अनुसार, बढुवा सिफारिस गर्दा ज्येष्ठता, व्यावसायिक क्षमता तथा कार्यसम्पादन मूल्याङ्कनलाई प्राथमिकता दिइएको छ।
एसएसपीमा सिफारिस गरिएका अधिकृतहरू दोस्रो ब्याचका हुन् भने, एसपीमा तेस्रो ब्याचका, वैकल्पिक समूह तथा चौथो ब्याचबाट सिफारिस गरिएको छ। डीएसपीमा सिफारिस भएका अधिकृतहरू नवौँ ब्याचका हुन्।
यसअघि सशस्त्र प्रहरी मुख्यालयले असार ३२ गते सूचना जारी गरी सम्बन्धित पदहरूका लागि १५ दिनभित्र बढुवा फाराम पेश गर्न योग्य उम्मेदवारहरूलाई आह्वान गरेको थियो। फाराम बुझाउँदा उम्मेदवारले शैक्षिक योग्यताको प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू संलग्न गर्न भनिएको थियो।
संगठनका अनुसार यो बढुवाबाट सुरक्षा फौजको मनोबलमा थप उत्साह र प्रभावकारिता ल्याउने विश्वास गरिएको छ।