रौतहट जिल्लाको मौलापुर नगरपालिका अन्तर्गत रहेको पतौरा स्वास्थ्य केन्द्रमा एकैदिन चार जना महिलाले सुरक्षितरूपमा सुत्केरी भई कुल ६ जना शिशुको जन्म दिएका छन्।
तीमध्ये दुई जना महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन्।
स्वास्थ्य केन्द्रका प्रमुख अच्छेलाल साहका अनुसार, २५ वर्षीया मीरा देवी साह ९मौलापुर–५० र २२ वर्षीया पेतारी देवी ९मौलापुर–६० ले जुम्ल्याहा छोरी शिशु जन्म दिएकी हुन्। त्यसैगरी, १८ वर्षीया चन्दनी यादव ९गढीमाई नगरपालिका–९० र २५ वर्षीया रुमी महतो ९परोहा नगरपालिका–३० ले एक–एक जना छोरी शिशु जन्म दिएकी छन्। ती सबै सुत्केरी महिला तथा नवजात शिशु सुरक्षित र स्वास्थ रहेको प्रमुख साहले जानकारी दिएका छन्।
हाल अधिकांश गर्भवती महिलाहरू सुरक्षित सुत्केरी सेवाका लागि वीरगञ्जलगायत अन्य स्थानमा धाउनु पर्ने बाध्यता थियो। तर, पतौरा स्वास्थ्य केन्द्रमा दक्ष चिकित्सक टोली, अनुभवी महिला नर्स तथा राम्रो व्यवस्थापन भएको कारणले गर्दा महिलाहरूले आफ्नै नजिकको स्वास्थ्य संस्थामा सुरक्षितरूपमा सुत्केरी हुने सुविधा पाउन थालेका छन्।
मौलापुर नगरप्रमुख रिना कुमारी साहको निर्देशनमा सञ्चालन भइरहेको स्वास्थ्य सेवामा सुधार आएपछि आसपासका पालिकाबाट समेत महिलाहरू उपचार र सुत्केरी सेवाका लागि आउने गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएअनुसार, यस घटनाले मौलापुर नगरपालिका भित्र मातृ तथा नवजात स्वास्थ्य सेवाको गुणस्तर र प्रभावकारिता थप प्रमाणित गरेको छ।
स्वास्थ्य केन्द्रमा एकैदिन छ जना शिशुको सुरक्षित जन्म हुनु सुखद र प्रेरणादायी घटनाको रूपमा हेरिएको छ। सस्तो, सुरक्षित, सहज र गुणस्तरीय सुत्केरी सेवा उपलब्ध गराउने यस केन्द्रले स्थानीय तथा अन्य पालिकाका गर्भवती महिलाहरूका लागि एक उदाहरणीय विकल्पको रूपमा आफूलाई प्रस्तुत गरिरहेको छ।