बारा, असोज २५ गते। बाराको पचरौता नगरपालिकाबाट प्रहरीले ५५ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार असोज २४ गते राति करिब १०ः४५ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको गस्ती टोलीले पचरौता नगरपालिका–६ मा चेकजाँच गर्ने क्रममा गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बारा जिल्लाको पचरौता नगरपालिका–३, रामनगर टोल निवासी करिब ४५ वर्षीय राजकिशोर प्रसाद यादव रहेका छन्। चेकजाँचका क्रममा उनको साथबाट ५५ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
गाँजासहित पक्राउ परेका यादवलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखिएको छ।
बरामद गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ लैजाने तयारी गरिएको थियो तथा उक्त कारोबारमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
लागूऔषधको अवैध ओसारपसार तथा कारोबार नियन्त्रण गर्न प्रहरीले जिल्लाका विभिन्न स्थानमा गस्ती र चेकजाँचलाई तीव्रता दिँदै आएको छ। पक्राउ परेका यादवमाथि लागूऔषधसम्बन्धी प्रचलित कानुनअनुसार थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।