बोन्डी बीच गोली काण्डमा १० वर्षीया बालिका सहित १५ जनाको मृत्यु, बुबा–छोरा संलग्न

काठमाडौं : अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यस्थित बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले घटनामा संलग्न आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको जानकारी दिएका छन्।

प्रहरी आयुक्त माल लान्योनका अनुसार आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा–छोरा हुन्। प्रहरी कारबाहीका क्रममा ५० वर्षीय आक्रमणकारीलाई गोली हानी मारिएको छ भने २४ वर्षीय छोरा गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।

घटनापछि ड्युटीमा रहेका प्रहरीसहित ४२ जना घाइतेलाई विभिन्न अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। घाइतेहरूको उपचार जारी रहेको र केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीसँग हतियारको वैध लाइसेन्स रहेको पाइएको छ। उनको नाममा छवटा हतियार दर्ता रहेको र घटनास्थलबाट थप छवटा हतियार बरामद गरिएको छ। साथै, घटनास्थलमा फेला परेका दुईवटा विस्फोटक पदार्थलाई प्रहरीले निष्क्रिय पारेको जनाएको छ।

यस घटनाप्रति प्रतिक्रिया दिँदै अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भविष्यमा यस्ता आक्रमणहरू रोक्न आवश्यक पर्ने सबै स्रोत र संयन्त्र परिचालन गरिने बताएका छन्। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Comments (0)
Add Comment