निर्वाचन आयोगले आज प्रतिनिधिसभा उम्मेदवारको नामावली प्रकाशन गर्दै

काठमाडौं, माघ ८ : निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरूको नामावली सार्वजनिक गर्ने भएको छ। मंगलबार मनोनयन दर्ता गराएका उम्मेदवारहरूको नामावली आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिने आयोगले जनाएको छ।
मंगलबार साँझसम्म मनोनयन दर्ता सम्पन्न भएपछि आयोगले बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यतासम्बन्धी उजुरी संकलन गरेको थियो। दर्ता भएका उजुरीहरूमाथि बुधबार साँझ नै जाँचबुझ सम्पन्न भइसकेकाले आज नामावली प्रकाशन गर्न लागिएको आयोगले जानकारी दिएको छ।
आयोगको कार्यतालिका अनुसार माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरूले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ।
निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा कुल ३ हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमध्ये ३ हजार ८९ जना पुरुष, ३९६ जना महिला र १ जना तेस्रो लिङ्गी उम्मेदवार रहेका छन्।
यस्तै, आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या १ करोड ८९ लाख ०३ हजार ६८९ रहेको छ। यसमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला तथा अन्य २०० मतदाता रहेका छन्।

Comments (0)
Add Comment