नेता सिटौलाको दाबी : मंसिरभित्र कांग्रेसको महाधिवेशन हुन्छ’
नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको १५ औं महाधिवेशन आगामी २०८३ सालको मंसिर महिनाभित्र सम्पन्न हुने दाबी गरेका छन्।
आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सिटौलाले चार वर्षभित्र महाधिवेशन गरिन्छ भन्ने अडान व्यवहारिक नभएको स्पष्ट पारे। तर, पार्टीको क्रियाशील सदस्यता नवीकरणको प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै उनले मंसिरभित्र महाधिवेशन सम्भव हुने बताए।
‘मंसिरभित्र महाधिवेशन गराउनु पर्दछ, हुन्छ र हुनु पर्दछ,’ नेता सिटौलाले भने, ‘कांग्रेसले सधैं पाँच वर्षभित्र महाधिवेशन गर्दै आएको छ, यसपटक पनि त्यसमा आशंका गर्नु पर्ने अवस्था छैन।’
सिटौलाले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गरे। तर, दुई दलबीचको सहमतिअनुसार सरकारलाई निरन्तरता मिल्ने बताए।
‘कसैको स्पष्ट बहुमत छैन। पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता नछाडेका भए, अहिलेको सरकार नै चलिरहेको हुन्थ्यो,’ उनले भने, ‘वर्तमान सरकार एउटा विशेष परिस्थितिमा बनेको हो, अहिले अर्को विकल्प देखिँदैन।’
उनका अनुसार, सरकार परिवर्तनको अवस्था नरहेको भन्दै प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको सहमतिअनुसार सरकार अघि बढ्नेछ।