Modern technology gives us many things.

जुम्लामा काँचो स्याउ टिप्न प्रतिबन्ध, भदौ १५ पछि मात्र टिप्न अनुमति

जुम्लाका किसानलाई अब भदौ १५ गतेभन्दा अघि काँचो स्याउ टिप्न नपाइने भएको छ। कृषि विकास कार्यालय जुम्लाले सार्वजनिक सूचना जारी गर्दै भदौ १५ पछि मात्र परिपक्व स्याउ टिप्न अनुरोध गरेको छ।

कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार काँचो स्याउ टिप्दा यसको स्वाद, गुणस्तर र पौष्टिकतामा असर पर्ने भएकाले त्यस्तो कार्यमा संलग्न हुने किसान तथा व्यापारी दुवैलाई कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

“स्याउको दीर्घकालीन ब्रान्ड, बजार मूल्य र बजार विस्तारमा नकारात्मक असर पर्न सक्छ। त्यसैले जिल्लाका आठवटै स्थानीय तहका कृषि शाखा र नागरिकहरूलाई सूचित गरिएको हो,” प्रमुख अधिकारीले भने।

कृषि विज्ञहरूका अनुसार स्याउ पूर्ण रूपमा परिपक्व भएपछि मात्रै टिप्दा यसको गुणस्तर राम्रो रहन्छ र बजारमा पनि माग उच्च हुन्छ। अधिकारीका अनुसार स्याउको रङ ७० प्रतिशतभन्दा बढी परिवर्तन भइसकेपछि मात्रै बिक्री गर्न किसानलाई निर्देशन दिइएको छ।

कृषि विकास कार्यालयका तथ्यांकअनुसार जुम्लामा करिब १८ हजार घरधुरीमध्ये १६ हजार घरधुरी स्याउखेतीमा संलग्न छन्। हाल जिल्लामा चार हजारभन्दा बढी हेक्टरमा स्याउखेती भइरहेको छ भने स्याउखेतीको क्षेत्र पनि वर्षेनी बढ्दै गएको छ।

यसैबीच, तातोपानी गाउँपालिकाले पनि आफ्ना स्याउ बगैँचा धनी र व्यापारीहरूलाई भदौ १५ पछि मात्र स्याउ संकलन तथा निकासी गर्न अनुरोध गरेको छ। गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले समयभन्दा पहिले स्याउ टिपेर बजारमा ल्याउने कार्यले जिल्लाको स्याउ व्यवसायलाई दीर्घकालीन रूपमा असर गर्न सक्ने बताए।

Leave A Reply

Your email address will not be published.