पोखरा साहसिक पर्यटनको हबका रूपमा विकास भइसकेकोः परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पोखरालाई साहसिक पर्यटनको हबका रूपमा पहिल्यै विकास भइसकेको बताएकी छन्। पोखराको लेकसाइड क्षेत्रमा अंशुभरा ग्रुपद्वारा सञ्चालित बगैँचा रिसोर्ट एन्ड स्पा को उद्घाटन समारोहमा बोल्दै मन्त्री देउवाले पोखरा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको धारणा राखिन्।
बाल्यकालमा पोखराको यात्रा स्मरण गर्दै उनले त्यो समयदेखिनै यहाँको प्राकृतिक सौन्दर्यले आफुलाई लोभ्याएको बताइन्। हाल विश्वव्यापी रूपमा देखा परेको जलवायु परिवर्तनका असर नेपालमा पनि देखिन थालेको उल्लेख गर्दै उनले उत्तर र दक्षिणका छिमेकी मुलुकमा बाढीका घटना बढ्दो अवस्थामा रहेकोमा चिन्ता व्यक्त गरिन्। उनले नेपाल पनि यसप्रति सर्तक रहनुपर्ने आवश्यकता औँल्याइन्।
“यहाँ पनि अनावृष्टि र अतिवृष्टिको त्रास बढ्दै गएको छ,” मन्त्री देउवाले भनिन्, “जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै दिगो विकासतर्फ अघि बढ्न सहकार्य र समन्वय अपरिहार्य छ।”
नेपाल जैविक विविधताको संरक्षणमा अग्रसर राष्ट्र भएको उल्लेख गर्दै उनले बगैँचा रिसोर्टले यस विषयलाई प्राथमिकतामा राखेर सञ्चालित हुनु सराहनीय रहेको बताइन्। उनले स्वदेशमै सम्भावनाहरू खोजेर काम गर्ने सोचको प्रशंसा गर्दै भनिन्, “रिसोर्टमार्फत स्वदेशमा केही गर्नुपर्छ भन्ने सन्देश पनि दिन खोजिएको छ। विदेशमा गरिने मेहनतले केवल पैसा कमाइन्छ, तर स्वदेशमै गरिने मेहनतले इज्जत र योगदान दुवै पाइन्छ।”
उद्घाटन कार्यक्रममा पोखराका पर्यटन व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधि तथा अंशुभरा ग्रुपका पदाधिकारीहरूको सहभागिता रहेको थियो।