रास्वपाको चुनावी अभियानलाई थप ऊर्जा दिन बालेन साह बुधबार बारा आउँदै
बारा , २६ माघ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्री पदका लागि झापा–५ बाट उम्मेदवारी दिएका बालेन साह यही बुधबार बारा आउने कार्यक्रम रहेको छ। चुनावी सरगर्मी बढिरहेको बेला बालेन साहको बारामा हुने उपस्थितिले पार्टीको अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
बालेन साहको देशव्यापी लोकप्रियता र ‘घण्टी’ चुनाव चिन्हप्रतिको जनआकर्षणले मुलुक नै परिवर्तनको आशामा अघि बढिरहेको अवस्थामा उनको बारा आगमनलाई विशेष अर्थका साथ हेरिएको छ। युवापंक्ति, स्वतन्त्र सोच राख्ने मतदाता तथा परिवर्तन चाहने नागरिकहरूमा बालेन साहको उपस्थितिले नयाँ उत्साह थप्ने विश्वास गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा डाक्टर एवम् अधिवक्ता सुशिल साहका अनुसार बालेन साह बारा आएर पार्टीका उम्मेदवारहरूको पक्षमा चुनावी अभियानमा सहभागी हुनेछन्। “बालेन साहको उपस्थितिले बारामा रास्वपाको अभियानलाई थप बल पुग्नेछ। परिवर्तन चाहने जनताको उत्साह अझ बढ्नेछ,” उनले बताए।
उनका अनुसार बालेन साहले बारा जिल्लाका विभिन्न स्थानमा पार्टी कार्यकर्ता, शुभेच्छुक तथा आम मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय भएको छ। साथै, छोटो सम्बोधनमार्फत सुशासन, पारदर्शिता, जवाफदेहिता र पुरानो राजनीतिक प्रवृत्तिको अन्त्य जस्ता मुद्दामा आफ्नो धारणा राख्ने कार्यक्रमसमेत रहेको जनाइएको छ।
रास्वपाले यस निर्वाचनलाई परम्परागत राजनीति र नयाँ सोचबीचको निर्णायक लडाइँका रूपमा लिएको छ। बालेन साहको बारामा हुने कार्यक्रमले विशेष गरी युवा मतदाता र पहिलोपटक मतदान गर्ने वर्गलाई आकर्षित गर्ने पार्टीको विश्वास छ।
बारा जिल्लामा यसअघि नै रास्वपाका उम्मेदवारहरूले घरदैलो, युवा संवाद र समुदायस्तरीय अन्तरक्रिया कार्यक्रमलाई तीव्र बनाउँदै आएका छन्। अब बालेन साहको आगमनसँगै जिल्लाको चुनावी माहोल थप तातिने देखिएको छ।