Modern technology gives us many things.

नेपाल पासवान कल्याण समाज बारा जिल्लाद्वारा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

नेपाल पासवान कल्याण समाज, बारा जिल्लाको आयोजनामा एक भव्य सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। समाजका अध्यक्ष राजदेव पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवौँ निर्वाचित राष्ट्रिय सभा सदस्य माननीय धर्मेन्द्र पासवान प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा महिला नेत्री तथा पूर्वमन्त्री कलावती देवी पासवान, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान तथा समाजसेवी मन्सी पासवानको सहभागिता रहेको थियो। साथै छिमेकी जिल्ला रौतहटबाट समाजसेवी व्यक्तित्व मुटुकलाल पासवान, युवा नेता सुबा साहेब पासवान, बारा जिल्लाका अग्रज व्यक्तित्वहरू, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई खादा, माला, गम्छा र टीका लगाएर सम्मान तथा स्वागत गरिएको थियो। सम्मान ग्रहण गर्दै प्रमुख अतिथि धर्मेन्द्र पासवानले समाजको हक–हित, अधिकार र सामाजिक उत्थानका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले पासवान समुदायको शिक्षा, चेतना र समावेशी विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल पासवान कल्याण समाजले समुदायको पहिचान, अधिकार र सामाजिक सशक्तीकरणका लागि गर्दै आएको योगदानको प्रशंसा गरे। उनीहरूले समाजमा पछाडि पारिएका वर्गको उत्थानका लागि संगठित प्रयास आवश्यक रहेको र यस्ता सम्मान कार्यक्रमले सामाजिक एकता र प्रेरणा बढाउने बताएका थिए।

अध्यक्ष राजदेव पासवानले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, शुभेच्छुक र सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि समाजले सामाजिक, शैक्षिक तथा चेतनामूलक कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सौहार्दपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको उक्त कार्यक्रमले समुदायभित्र सकारात्मक सन्देश प्रवाह गरेको आयोजक नेपाल पासवान कल्याण समाज, बारा जिल्लाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.