तीन महिनादेखि नारायणी अस्पतालकाे सिटी स्क्यान मेशिन बन्द
वीरगन्ज,०४ चैत । वीरगन्जकाे नारायणी अस्पतालको सिटी स्क्यान मेशिन विग्रिएर तीन महिनादेखि बन्द भएको छ, जसले बिरामीहरुको उपचारमा गम्भीर असर पारेको छ। गरिब र विपन्न नागरिकका लागि स्वास्थ्य उपचारको महत्वपूर्ण स्रोत रहेको यस अस्पतालको सिटी स्क्यान मेशिन खराब हुँदा दैनिक २० देखि २५ जना बिरामीलाई महंगोमा बाहिरका निजी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता आइरहेको छ।
अस्पतालका प्राविधिकका अनुसार सिटी स्क्यान मेशिनको फ्युज खराब भइसकेको कारण मेशिन सञ्चालनमा समस्या आएको हो। मेशिनको फ्युज चीनबाट ल्याउनुपर्ने भए पनि आपूर्ति ढिला भएपछि सेवा प्रभावित भएको जनाइएको छ। अस्पतालका रेडियोलोजी विभाग प्रमुख प्रदीप साहका अनुसार, फ्युजको आपूर्ति प्रक्रिया अगाडि बढाइएको छ र एक-दुई हप्तामा नयाँ फ्युज अस्पतालमा आउने आशा गरिएको छ।
सिटी स्क्यान मेशिनको खराबीका कारण बिरामीहरुले सेवा नपाएका मात्र होइन, अस्पतालको आम्दानी पनि घटेको छ। प्रत्येक दिन अस्पतालले ३५ हजारदेखि ४० हजार रुपैयाँको आम्दानी गुमाएको बताइएको छ। यस समस्याले रेडियोलोजी विभागको जनशक्तिमा पनि असर गरेको छ। पहिले चार जना सिटी स्क्यानका लागि काम गर्दै आएका थिए भने अहिले एकजना मात्रै कार्यरत छन्।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले मेशिनको ट्युब फ्युज भएर माघ महिनादेखि मेशिन बन्द भएको बताए। उनले भने, “अस्पतालले आपूर्तिकर्तालाई जानकारी गराइसकेको छ र सामान दुई हप्ताभित्र उपलब्ध हुने विश्वास गरिएको छ।”
अस्पतालका प्रमुख सुशील यादवले आपूर्तिकर्तालाई दबाब दिइरहेको र यो महिना भित्र मेशिन सञ्चालनमा ल्याउने आशा व्यक्त गरे।