उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबीच शिष्टाचार भेटवार्ता
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा शुभकामना आदानप्रदानसँगै भएको वार्तामा नेपाल–अमेरिका सम्बन्धका विविध आयाम, द्विपक्षीय सहयोग, कूटनीतिक साझेदारी र आगामी सम्भावनाबारे छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।
उपराष्ट्रपति यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै मुलुकबीच सुमधुर तथा परस्पर सम्मानमा आधारित सम्बन्ध रहँदै आएको बताएका थिए।
उनले भने, ‘लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रता हाम्रो साझा मूल्यमान्यता हुन्, जसले हाम्रो सम्बन्धलाई थप बलियो बनाएको छ।’ उनले सन् १९५१ देखि अमेरिकी सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायताप्रति धन्यवाद व्यक्त गर्दै आर्थिक–सामाजिक विकास र लोकतान्त्रिक सुदृढीकरणमा अमेरिकाको योगदान प्रशंसनीय रहेको बताएका थिए।
उपराष्ट्रपति यादवले नेपाल सरकारद्वारा सानफ्रान्सिस्को र ड्यालासमा स्थापना गरिएका महावाणिज्य दूतावासबाट नेपाली डायस्पोरालाई कन्सुलर सेवा प्रवाह हुने विश्वास व्यक्त गर्दै व्यापार, प्रविधि तथा लगानीका क्षेत्रमा आपसी सहकार्य अझ सुदृढ गर्नेतर्फ पनि नेपाल प्रतिबद्ध रहेको उल्लेख गरे। नेपाल सन् २०२६ सम्ममा अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन लागेको सन्दर्भमा उपराष्ट्रपति यादवले यस उपलब्धिका लागि अमेरिकाजस्ता विकास साझेदारहरूको सक्रिय र दीर्घकालीन सहकार्यको आवश्यकता रहेको उल्लेख गरे।
उनले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)अन्तर्गत सञ्चालित पूर्वाधार परियोजना र युएसएआइडीमार्फत भइरहेका कार्यक्रम पुनःसञ्चालन हुनेमा आशावादी रहेको बताए।
सो अवसरमा राजदूत थम्प्सनले एमसिसी, युएसएआइडीलगायत अन्य विकास परियोजना सकारात्मक रुपमा निरन्तरताको मार्गमा अघि बढेको जानकारी दिए। उनले अमेरिकामा नेपाली समुदाय अन्त्यन्तै सक्रिय र जीवन्त भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै नेपाल तथा अमेरिका परस्पर सहकार्य गर्दै महत्वपूर्ण काम गर्न सक्ने बताएका थिए।