१४ उत्कृष्ट किसान राष्ट्रपतिबाट पुरस्कृत
काठमाण्डाै : देशभरका १४ जना किसान राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आज राष्ट्रपति निवास शीतल निवासमा आयाेजना गरेकाे कार्यक्रममा राष्ट्रपति रामचन्द्र पाैडेलले १४ जना किसानलाई पुरस्कार प्रदान गर्नुभएकाे हाे ।
पुरस्कृत हुनेहरूमा कोशी प्रदेशबाट आर्य कृषि फार्मका सुरेशकुमार मेहता र रमेश कृषि फार्मका रमेश साह, मधेश प्रदेशबाट शम्भुनाथ माछा फार्मका भरतकुमार यादव र निजगढ केरा एग्रिकल्चर फार्मका हिराबहादुर थापा मगर रहेका छन् ।
यसैगरी बागमती प्रदेशबाट कालिका पशु विकास केन्द्रका चेतप्रसाद ढकाल र ग्रीनलाइन एग्रो प्रालिका दयाराम मचामसी, गण्डकी प्रदेशबाट ङवाङहिसी कृषि तथा पशुपक्षी अग्र्यानिक फार्मका छिरिङ गुरुङ र मित्र बाटिका कृषि फार्मका बाटुली तिवारी, लुम्बिनी प्रदेशबाट जयपाल मौर्य र शान्ति उन्नत पशुपालन तथा माछा फार्मका सुवास कुर्मी, कर्णाली प्रदेशबाट गोविन्द ओली र भरतनाथ योगी तथा सुदूरपश्चिम प्रदेशबाट खप्तड पशुपक्षी तथा कृषि फार्मका प्रेमप्रसाद जोशी र कैलाशेधरी कृषि तथा पोल्ट्री फार्मका लोकबहादुर थापालाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गर्नुभयाे । पुरस्कृत हुने किसानले जनही २ लाख रुपैयाँ र सम्मानपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा बाेल्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारीका लागि बाहिरिने युवा शक्तिलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न कृषि क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभयाे । कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित ‘स्टार्टअप’ कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्ने उहाँकाे भनाइ थियाे ।