काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरुलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन्। जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरी नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षारोपण कार्यक्रमको शुभारम्भका अवसरमा अध्यक्ष ओलीले आफूहरुको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन–२०८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाब किताब गरिने बताएका हुन् ।
“हामी अर्जुनदृष्टिका साथ मिसन २०८४ को अभियानमा छौँ । हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो । यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन ।”, अध्यक्ष ओलीले भने, “हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन । केही स्वार्थीहरुलाई महाधिवेशन लागेको मात्रै हो । हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन ।”