Modern technology gives us many things.

मधेशमा खानेपानी र सिँचाइ समस्या समाधानका लागि चार मन्त्रालयबीच छलफल

काठमाडौँ श्रावण ६  :मधेशका आठ जिल्लामा पानीको अत्यधिक अभावका कारण उत्पन्न खानेपानी र सिँचाइ समस्याको समाधानका लागि विभिन्न चार मन्त्रालयबीच सोमबार छलफल भएको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको पहलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, कानुन तथा संसदीय मामिलामन्त्री अजय चौरासिया र खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवबीच ऊर्जा मन्त्रालयमा बैठक बसेको हो।

छलफलमा सम्बन्धित चारवटै मन्त्रालयका सचिवहरूको पनि सहभागिता रहेको थियो। मन्त्री अधिकारीले बर्खामा अत्यन्त कम वर्षा भएका कारण मधेशमा रोपाइँ प्रभावित भएको जानकारी दिँदै त्यसको अध्ययनका लागि टोली परिचालन गरिएको बताए। अध्ययन टोलीले दिएको सुझावका आधारमा मन्त्रालयले आवश्यक कार्य अघि बढाउने उनले स्पष्ट पारे।

बैठकमा मधेशमा खानेपानीको समेत अभाव रहेको विषय उठेपछि समस्या पहिचान र समाधानका उपाय खोज्न चारवटै मन्त्रालयका सहसचिवको प्रतिनिधित्व रहनेगरी एक कार्यदल गठन गर्ने निर्णय गरिएको छ। कार्यदलले छिटोभन्दा छिटो समस्या पहिचान गरी समाधानका उपायहरू सुझाउने बताइएको छ।

जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले छलफलमा बोल्दै तराईका जम्मा ५० प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको जानकारी दिइन्। उनले भूगर्भीय पानी नै खानेपानी र सिँचाइका लागि दीर्घकालीन र भरपर्दो उपाय हुने धारणा राखिन्।

सरकारले गठन गरेको कार्यदलले अध्ययनपछि बुझाएको प्रतिवेदनका आधारमा आगामी दिनमा नीतिगत तथा भौतिक समाधानतर्फ अघि बढाइनेछ।

Leave A Reply

Your email address will not be published.