Modern technology gives us many things.

कम्पनी रजिष्ट्रार कार्यालयका तीन कर्मचारी पदमुक्त, विभागीय कारबाही प्रक्रिया अगाडि

काठमाडौँ, साउन ७:  घुस प्रकरणमा संलग्न भएको आरोप लागेका कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार ईश्वरकुमार गिरीसहित तीन कर्मचारीलाई पदमुक्त गर्दै विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यसचिव एकनारायण अर्यालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई तत्काल कारबाही प्रक्रिया थाल्न निर्देशन दिएका हुन्।

नयाँ बानेश्वरस्थित एक कफी शपमा पत्रकारलाई ‘भित्री सूचना’ दिने भन्दै नगद घुस दिन खोजिएको समाचार सार्वजनिक भएपछि मुख्यसचिवको निर्देशनमा कारबाही प्रक्रिया अघि बढाइएको हो। गिरीद्वारा खटाइएका अधिकृतहरू—रविन कार्की र भीमप्रसाद पराजुली—ले पत्रकारलाई पैसा दिन खोजेको खुलेको थियो।

उद्योग सचिव राउतका अनुसार दोषी देखिएका तीनै जनाको स्पष्टिकरण मागी कारबाही थाल्न पत्र तयार भइसकेको छ। उनले भने, “मुख्यसचिवज्यूको निर्देशनअनुसार आवश्यक प्रक्रिया तत्काल थालिएको छ। अब ढिलाइ हुँदैन।”

यसअघि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले दोषी पहिचान गरी तीन दिनभित्र विभागीय कारबाहीसहितको प्रतिवेदन पेश गर्न सचिव राउतलाई निर्देशन दिएका थिए। त्यसपछि सहसचिव छविन्द्र पराजुलीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो।

समितिको प्रतिवेदनपछि दोषी देखिएका कर्मचारीलाई अन्यत्र सरुवा गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सरुवा गरिएकामध्ये दुईजना–कार्की र पराजुली–सामेल छन्।

मुख्यसचिव अर्यालले सेवाग्राहीसँग पैसा लिने र पत्रकारलाई प्रभावित गर्न खोज्ने कार्यलाई क्षम्य नहुने बताएका छन्। उनले भने, “यस्ता कार्य सार्वजनिक गर्न भूमिका खेलेका सञ्चारकर्मीहरूलाई धन्यवाद दिन चाहन्छु।”

उनले राज्यको सेवा प्रवाहमा ढिलासुस्ती गर्ने र अतिरिक्त लाभ खोज्ने कर्मचारीलाई तत्काल कारबाही गर्नुपर्ने धारणा पुनः दोहोर्‍याए। “यस्ता कर्मचारीहरूकै कारण सम्पूर्ण कर्मचारीतन्त्र बदनाम भएको छ,” अर्यालको भनाइ छ।

सरकारले पछिल्लो समय सुशासन र सेवा प्रवाहमा सुधार ल्याउन सचिवस्तरीय बैठकदेखि सार्वजनिक कार्यक्रमहरूसम्म प्रशासनिक कडाइ अपनाउने प्रयास गरिरहेको छ

Leave A Reply

Your email address will not be published.