ईयू–अमेरिका व्यापार वार्ता: सहकार्यको नयाँ ढोका खोल्ने कूटनीतिक पहल
युरोपेली सङ्घ (ईयू) र अमेरिकाबीच लामो समयदेखि अल्झिएको व्यापार वार्ताको समाधान खोज्ने प्रयास पुनः शुरू भएको छ। ईयूका प्रमुख व्यापार प्रतिनिधि मारोस सेफ्कोभिक र अमेरिकी वाणिज्य सचिव हावार्ड लुटनिकबीच हिजो भएको टेलिफोन संवादपछि वार्ताको नयाँ चरण प्रारम्भ भएको समाचार संस्था एएफपीले जनाएको छ।
यो उच्चस्तरीय संवादलाई निकै संवेदनशील र महत्त्वपूर्ण मानिएको छ। यसलाई दुवै पक्षले व्यापार तनाव कम गर्न र समझदारीमा आधारित समाधान निकाल्ने प्रयासको रुपमा लिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ भित्र कुनै व्यापार सम्झौता हुन नसके युरोपेली वस्तुमा ३० प्रतिशतसम्म भन्सार शुल्क लगाउने चेतावनी यसअघि नै दिइसक्नु भएको थियो। युरोपेली सङ्घले पनि त्यसको प्रतिकारस्वरूप वैकल्पिक योजना तयार गरेको जनाइएको छ।
युरोपेली आयोगका प्रवक्ता ओलोफ गिलका अनुसार आयोगको प्राथमिकता आपसी समझदारीबाट समस्याको समाधान गर्नु हो। त्यसअनुसार अहिले प्राविधिक र राजनीतिक तहमा निरन्तर संवाद चलिरहेको छ।
टेलिफोन संवादपछि युरोपेली आयोगले आफ्ना सदस्य राष्ट्रहरूलाई वार्ताको प्रगति र सम्भावित परिणामबारे जानकारी दिने तयारी गरेको छ।
ईयूले हालसम्म दुईवटा शुल्क प्रस्ताव तयार गरेको छ। पहिलो प्रस्तावमा करिब ७२ अर्ब युरो (८४ अर्ब अमेरिकी डलर) बराबरका अमेरिकी वस्तुहरू समेटिएका छन्। दोस्रो प्रस्ताव भने अमेरिकी प्रशासनद्वारा गत वर्ष स्टिल र एल्युमिनियममा लगाइएको भन्सार शुल्कको जवाफस्वरूप बनाइएको हो, जसमा करिब २१ अर्ब युरो बराबरका वस्तुहरू समावेश छन्।
यी दुवै प्रस्तावलाई समेटेर एउटै साझा सूची बनाउने तयारी भइरहेको छ, जुन आवश्यकता परे अगस्ट ७ देखि लागू गर्न सकिने एएफपीले जनाएको छ।