Modern technology gives us many things.

मधेसको खडेरीले देशव्यापी खाद्य संकटको घण्टी बजायो

नेपालको ‘अन्न भण्डार’को रूपमा चिनिने मधेस प्रदेशमा फैलिएको भीषण खडेरीका कारण धान रोपाइँमा भारी गिरावट आएको छ। कृषि विकास निर्देशनालयका अनुसार, हालसम्म जम्मा ३५ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। यसले देशव्यापी खाद्य संकटको खतरा झनै तीव्र बनाएको चेतावनी विज्ञहरूले दिएका छन्।

निर्देशनालयको पछिल्लो अध्ययनले सप्तरी, सिरहा, महोत्तरी, धनुषा र सर्लाही जिल्लालाई ‘रेडजोन’मा राख्दै तत्काल सिँचाइको व्यवस्था नगरे भयावह अवस्था आउन सक्ने जनाएको छ। अध्ययन प्रतिवेदनमा उल्लेख छ— “अबको २० दिनभित्र पर्याप्त सिँचाइको व्यवस्था हुन सकेन भने धानको बेर्ना सुक्ने मात्र होइन, रोपिसकेको धानसमेत नष्ट भई उत्पादनमा ठूलो गिरावट आउने निश्चित छ।”

खडेरीको असरले मधेसको कृषि क्षेत्र मात्र होइन, आम जनजीवनसमेत प्रभावित बनेको छ। भू–जल सतह घटेपछि चापाकलहरू सुक्न थालेका छन्, जसले गर्दा पीने पानीको समेत हाहाकार देखिएको छ। स्थानीय किसानहरू पानीको जोहो गर्न धाउँदै छन् भने खेतमा चर्को धुलो उडिरहेको छ।

स्थिति गम्भीर बन्दै गएपछि प्रदेश सरकारले मधेसलाई ‘सुक्खाग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ। त्यस्तै, संघीय सरकारले यसलाई ‘संकटग्रस्त क्षेत्र’को रूपमा चिनाएको छ।

मुख्यमन्त्री सतिश सिंहका अनुसार, “हामी तत्कालका लागि डीप बोरिङ र स्यालो ट्युबवेलको व्यवस्था गर्दैछौँ। संघीय सरकारसँग समन्वय गरी आपतकालीन कृषि प्याकेज ल्याउने तयारी भइरहेको छ।”

दीर्घकालीन समाधानका लागि प्रदेश सरकारले नहर निर्माण, भू–जल पुनर्भरण (Water Recharge) र मौसमअनुकूल खेती प्रणाली जस्ता योजना अघि बढाएको छ। यद्यपि, यस्ता योजना कार्यान्वयनमा समय लाग्ने भएकाले अल्पकालीन राहतको आवश्यकता अझै उच्च रहेको बताइएको छ।

विशेषज्ञहरूका अनुसार, यदि तत्काल प्रभावकारी हस्तक्षेप भएन भने यस वर्षको खाद्य उत्पादनमा ऐतिहासिक गिरावट आउनेछ, जसको प्रभाव देशव्यापी हुनेछ।सम्भर कृषि सूचना

Leave A Reply

Your email address will not be published.