Modern technology gives us many things.

नेपालका ३,२५२ हिमनदी पग्लिने जोखिममा, तापक्रम वृद्धिले कृषिमा गहिरो असर

काठमाडौं, साउन १३:जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम भयावह दरमा बढिरहेको छ । पछिल्ला तथ्यांकअनुसार विगत शताब्दीमा पृथ्वीको औसत तापक्रम ०.६ डिग्री सेल्सियसले वृद्धि भएको छ । यही दर कायम रहेमा यस शताब्दीको अन्त्यसम्ममा तापक्रम ४ डिग्री सेल्सियस पुग्न सक्ने वैज्ञानिकहरूको अनुमान छ । डब्लूडब्लूएफ (WWF) को एक अध्ययनले देखाएको छ कि यस्तो अवस्था आए नेपालका ३,२५२ वटै हिमनदी पूर्ण रूपमा पग्लिनेछ । यसको असर केवल वातावरणमा सीमित नहुने, समग्र मानव जीवन, कृषि प्रणाली र प्राकृतिक सन्तुलनमा गहिरो असर पर्ने देखिएको छ ।

नेपाल, योगदान न्यून, जोखिम उच्च

नेपालले विश्वका कुल हरितग्यास उत्सर्जनको केवल ०.०२७ प्रतिशत मात्र योगदान गर्छ । ऊर्जा खपतको दृष्टिकोणले पनि नेपाल संसारका पाँचौँ कम ऊर्जा खपत गर्ने मुलुकमध्ये पर्दछ । तर पनि जलवायु परिवर्तनको प्रतिकूल असरमा नेपाल अग्रपंक्तिमा पर्छ ।
“हामी नखाएको विष पिउन बाध्य छौँ,” वातावरणविद्हरूको तर्क छ ।

तापक्रम वृद्धिदर पृथ्वीकै औसतभन्दा उच्च

नेपालमा तापक्रमको वार्षिक वृद्धिदर औसत ०.०६ डिग्री सेल्सियस छ भने हिमाली क्षेत्रमा यो दर ०.०८ डिग्री सेल्सियससम्म पुगिसकेको छ । अर्थात्, विश्व औसत तापक्रम वृद्धिभन्दा नेपाल बढी प्रभावित भइरहेको तथ्यांकले देखाउँछ ।

जलवायु परिवर्तनले कृषिमा गम्भीर असर

नेपालमा जनसंख्याको ६५ प्रतिशतभन्दा बढी कृषि पेशामा निर्भर छन् भने कुल गार्हस्थ उत्पादन (GDP) मा कृषि क्षेत्रको योगदान २७ प्रतिशत रहेको छ । तर दुःखद पक्ष के छ भने अधिकांश कृषियोग्य जमिन असिंचित छन् ।
सिँचाइको अभाव, अनियमित वर्षा, सुख्खायाम, आकस्मिक हावाहुरी र असिनाले किसानहरूको जीउ जलेको छ ।
यसै वर्ष मात्र, वर्षा हुने समयमा पानी नपरेपछि धानको रोपाइँ हुन सकेन । र, अप्रत्याशित असिनाले पाकेका बाली नष्ट पारेका छन् ।

रोग–कीरा र झारपातको प्रकोप

जलवायु परिवर्तनले बाली बिरुवाका लागि चाहिने नियमित हावापानी र तापक्रमको तालमेल बिग्रिँदा बाली चक्र नै अव्यवस्थित हुँदै गएको छ । रोग–कीराको प्रकोप, झारपातको तीव्र वृद्धि र उत्पादनमा उल्लेखनीय गिरावट आएपछि केही ठाउँका किसानले हिउँदे बाली नै लगाउन छाडेका छन् ।

अनुकूलनका उपाय आवश्यक

जलवायु परिवर्तनको प्रतिकूल असरबाट जोगिन केही वैकल्पिक उपायहरू आवश्यक छन् ।

विगत वर्षका मौसमको तथ्याङ्कको आधारमा बाली लगाउने समयको पुनःनिर्धारण गर्नुपर्ने

जलवायु सहनशील बालीको छनोट – कोदो, जुनेलो, तरुलजस्ता परम्परागत बालीको संरक्षण

मिश्रित खेती प्रणाली – विभिन्न बाली एउटै ठाउँमा उत्पादन गरी कीरा र रोगबाट जोगिन सकिने

थोपा सिंचाइजस्ता प्रविधिको प्रयोग र पानीको मितव्ययी उपयोग

आकाशे पानी संकलन, पोखरी खन्नेजस्ता दीर्घकालीन संरचनाको विकास

Leave A Reply

Your email address will not be published.