रुसमा शक्तिशाली भूकम्पपछि विश्वभर सुनामीको त्रास, जापानदेखि अमेरिकासम्म सतर्कता
रूसको सुदूर पूर्वी कामचटका प्रायद्वीपमा बुधबार बिहान गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पले विश्वका विभिन्न देशहरूमा सुनामीको त्रास फैलिएको छ। दशकौंपछि यति ठूलो भूकम्प गएको बताउँदै स्थानीय प्रशासनले जापानदेखि अमेरिका, चीन, फिलिपिन्स, इन्डोनेसिया लगायतका देशहरूमा सुनामी चेतावनी जारी गरेका छन्।
जापानमा आपतकालीन सतर्कता
भूकम्पपछिको सुनामी जापानको होक्काइडो तटमा ठोक्किँदा तीन मिटर (१० फिट) सम्मको छालाले समुद्री क्षेत्र प्रभावित भएको छ। जापान मौसम विज्ञान एजेन्सीले पूर्वी तटीय क्षेत्रका हजारौं नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको छ। धेरै स्थानमा साइरन बजाइएकाले जनजीवन त्रस्त बनेको छ।
चीन र अमेरिकामा पनि सतर्कता
चीनको प्राकृतिक स्रोत मन्त्रालयअन्तर्गतको सुनामी चेतावनी केन्द्रले झेजियाङ र सांघाई तटीय क्षेत्रमा १ मिटर सम्मको छालाको अनुमान गर्दै चेतावनी जारी गरेको छ। उता, अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (USGS) ले अलास्का लगायतका क्षेत्रहरूमा पनि उच्च सतर्कता अपनाउन सूचना पठाएको छ।
लस एन्जलस लगायतका अमेरिकी सहरहरूमा तटीय क्षेत्रमा खतरनाक छालाहरू आउन सक्ने भन्दै जनतालाई समुद्री क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ।
रूसमा जनधनको क्षति
कामचटका सेभेरो-कुरिलस्क सहरमा आएको सुनामीले घर, गाडीहरू बगाएको छ। प्रत्यक्षदर्शीले खिचेका भिडियोहरूमा समुद्री छालाले भवनहरू डुबाएको दृश्य देखिएको छ। धेरै स्थानमा जनतालाई सुरक्षित स्थानमा सारिएको छ।
दक्षिणपूर्वी एसियामा उच्च जोखिम
फिलिपिन्स र इन्डोनेसियामा पनि तटीय क्षेत्रहरूमा ०.५ देखि १ मिटर अग्ला छालाहरू आउन सक्ने भन्दै स्थानीय निकायहरूले सतर्कता अपनाएका छन्। फिलिपिन्सको PHIVOLCS र इन्डोनेसियाको भूभौतिकीय निकायहरूले समुद्रकिनारमा भीड नगर्न जनतालाई अनुरोध गरेका छन्।