Modern technology gives us many things.

१८ अभिमुखीकरण तालिम प्रदायक संस्था स्पष्टीकरणमा

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखीकरण (ओरिएन्टेशन) तालिम दिने १८ वटा संस्थालाई स्पष्टीकरण सोधेको छ।

विभागका अनुसार ती संस्थाहरूको अनुगमनका क्रममा विभिन्न प्रकारका गम्भीर समस्या देखिएपछि स्पष्टीकरण मागिएको हो। केही संस्थाको भौतिक पूर्वाधार नदेखिएको, केहीमा तालिम दिनुपर्ने जनशक्ति नहुँदो, त केहीको तोकिएको लोकेसन नै भेट्न नसकिने अवस्था देखिएको विभागले जनाएको छ।

विभागले यो महिनाभित्र १०० वटा ओरिएन्टेशन सेन्टरको अनुगमन गर्ने तयारी समेत गरिरहेको छ। हालसम्म १४३ संस्थालाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदान गर्न स्वीकृति दिइएकोमा १२५ संस्था मात्र सक्रिय रहेको विभागको भनाइ छ। अनियमितता भेटिएका १८ संस्थाको अनलाइन प्रणाली (आईटी सिस्टम) तत्काल बन्द गरिएको विभागले जानकारी दिएको छ।

काठमाडौं उपत्यकाभित्रका संस्थाको अनुगमन सशरीर उपस्थित भई कार्यालयमै पुगेर गरिएको हो भने उपत्यकाबाहिरका संस्थाको अनुगमन अनलाइनमार्फत गरिएको विभागले जनाएको छ।

गत वर्षदेखि नै विभागले सम्बन्धित संस्थामा ‘आईरिस’ प्रणाली जडान गरी अनलाइन अनुगमनको व्यवस्था मिलाएको छ। सोही प्रणालीको सहायताले केही संस्थाको अनुगमन अनलाइनबाटै सम्पन्न गरिएको विभागको भनाइ छ।

विभागले ओरिएन्टेशन तालिम प्रदायक संस्थाको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र मूल्यांकनलाई प्राथमिकतामा राखेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.