मधेशमा पानी संकट गहिरिँदै, दीर्घकालीन समाधानका लागि ‘पानी पुनः भरण योजना’ आवश्यक : मुख्यमन्त्री सिंह
साउन १६, सिरहा :मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा बढ्दो पानी संकटलाई दीर्घकालीन रूपमा समाधान गर्न “पानी पुनः भरण योजना” अत्यावश्यक भएको बताएका छन् । बिहीबार लहानमा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले भूजलको सतह लगातार घटिरहेको र डिप बोरिङ मात्र समस्याको समाधान नहुने स्पष्ट पारे ।
“जहाँ ठुलो डिप बोरिङ गाडिन्छ, त्यस वरिपरिका बस्तीहरूमा पानी सुक्ने समस्या देखिएको छ । भूमिगत स्रोतहरू रित्तिँदै गएका छन्, किनभने जमिनले पानी सोस्न पाएको छैन,” मुख्यमन्त्री सिंहले भने, “त्यसैले दीर्घकालीन समाधानका लागि पानी पुनः भरणलाई प्राथमिकतामा राख्नुपर्छ ।”
मुख्यमन्त्री सिंहले वर्षाको पानी सङ्कलन (रेनवाटर हार्वेस्टिङ) र जमिनमा पानी सोस्ने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए । उनले हालका सडक, ढल र नालाहरू ‘सिमेन्टेड’ भएका कारण वर्षाको पानी जमिनसम्म पुग्न नसकिरहेको उल्लेख गर्दै, “पानी सडकबाट नालामा अनि खोलामा पुग्छ, तर जमिनसम्म टच नै हुँदैन,” भने ।
उनले चुरे संरक्षणलाई पनि पानी पुनः भरणसँग प्रत्यक्ष रूपमा जोडेर हेर्नुपर्ने धारणा राखे । “चुरे तराईको पानीको मुटु हो । त्यहाँको वनस्पतिले पानी जमिनमा पुर्याउँछ । तर अनियन्त्रित फँडानी र उत्खननले त्यो प्रक्रिया समाप्त पारिरहेको छ,” सिंहले चिन्ता व्यक्त गरे ।
मुख्यमन्त्री सिंहले स्थानीय तहलाई घर नक्सा पास गर्दा रेनवाटर हार्वेस्टिङ अनिवार्य गराउन, रिचार्ज पोखरी निर्माण गर्न र सिमसार क्षेत्रको संरक्षण गर्न आह्वान गरे । यी कार्यहरू अभियानकै रूपमा अघि बढाउनु पर्ने उनको भनाइ छ ।
हाल मधेश प्रदेशलाई ‘सुक्खा प्रदेश’ घोषणा गरिसकिएको छ । प्रदेशमा ५० प्रतिशतभन्दा कम रोपाइँ भएको छ भने भूजलको सतह घट्दै गएको र जमिनको क्षयीकरणका कारण भविष्यमा मरुभूमिकरणको खतरा बढेको सिंहले चेतावनी दिए ।