मधेस प्रदेशमा सिँचाइको अभावले धानबाली सुक्न थाले
नियमित वर्षा नहुँदा मधेशका किसानले लगाएको धान सुक्न थालेको छ । असार महिनामा रोपिएको धानमा सिँचाइ अभाव भएपछि गह्रा फाट्ने, बोट सुक्ने र कतिपय ठाउँमा अझै रोपाइँ सुरु नै हुन नसकेको अवस्थामा किसान चिन्तित बनेका छन् ।
धानमा पानीको अभावसँगै रोगको प्रकोपले पनि समस्या थपिएको छ । रोपिएको बालीमा डडुवा, गाबा कुइने र बेरुवा जस्ता रोग देखिन थालेका छन् भने रोप्न बाँकी खेत खडेरीका कारण बाँझै बस्न बाध्य भएका किसानहरू पानीका लागि तँछाडमछाड गर्न थालेका छन् ।
मधेशमा हालसम्म करिब ७० प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको छ भने बाँकी ३० प्रतिशत क्षेत्रमा पर्याप्त पानी नपरेकाले रोपाइँ गर्न सकिएको छैन ।
“पानी नहुँदा रोपेको धान सुक्न थालेको छ, सिँचाइको व्यवस्था नभए किसानको पूरै मिहिनेत बर्बाद हुन्छ,” रौतहटका एक किसानले गुनासो गरे।
गत वर्ष असारभित्रै रोपाइँ सम्पन्न भए पनि यस वर्ष मनसुन कमजोर भएको कारण साउनको मध्यसम्म पनि धेरै ठाउँमा रोपाइँ रोकिएको छ । समयमै पानी नपरे धान उत्पादनमा भारी गिरावट आउने खतरा रहेको कृषि प्राविधिकहरूको भनाइ छ