व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको विवरण एक पटकका लागि सच्याउन पाइने
काठमाडौँ, साउन १७ :अब व्यक्तिगत घटना दर्ता प्रमाणपत्रमा रहेका विवरणहरू – नाम, थर वा उमेर – एक पटकका लागि सच्याउन सकिने कानुनी व्यवस्था गरिएको छ।
सरकारले ‘केही नेपाल ऐन संशोधन’ मार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा संशोधन गर्दै नागरिकलाई यस्तो सुविधा उपलब्ध गराएको हो।
यसअघि यस्तो सुविधा ऐन लागू भएपछि जन्मिएका बालबालिकाको हकमा मात्र सीमित थियो, त्यो पनि विवरण दर्ता भएको एक वर्षभित्र मात्र सच्याउन पाइन्थ्यो। तर अब भने जो कोही नागरिकले पनि एकपटकका लागि आफ्ना विवरण सच्याउन सक्नेछन्।
नागरिकले आफ्नो विवरण सच्याउनका लागि सम्बन्धित वडा कार्यालयमा रहेको स्थानीय पञ्जिकाधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ।
संशोधित ऐनको दफा २५ अनुसार, विवरण सच्याइएको जानकारी पञ्जिकाधिकारीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पठाउनेछन्। विभागले प्राप्त विवरणको आधारमा राष्ट्रिय परिचयपत्र नम्बरमा समेत अद्यावधिक गर्नेछ।
यस कानुनी प्रावधानसँगै धेरै नागरिकलाई पुराना विवरणका कारण झेल्नुपरेको समस्या समाधान हुने अपेक्षा गरिएको छ।