Modern technology gives us many things.

सिमरामा भदौमा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने

सिमरा, बारा : सिमरामा भदौ महिनाको चौथो साता अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। सिमरा भेट्रान क्लबको आयोजनामा भदौ २१ गतेदेखि २८ गतेसम्म सिमरा रंगशालामा रात्रीकालीन प्रतियोगिता सञ्चालन हुने भएको हो।

शनिबार सिमरामा आयोजित पत्रकार सम्मेलनमा क्लबले प्रतियोगितासम्बन्धी जानकारी गराउँदै आठ टिमको सहभागिता रहने जनाएको छ। सहभागी टिममा विभागीय टिम नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लबसहित मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, दार्जिलिङको कुरुसङ गल्स फुटबल एकेडेमी र आयोजक सिमरा भेट्रान क्लब स्वयं रहनेछ।

प्रतियोगिताको विजेता टिमले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछ। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै, उत्कृष्ट डिफेन्स, मिडफिल्डर, गोलकिपर, फरवार्ड र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार दिइनेछ।

चार वर्षदेखि भेट्रान फुटबल प्रतियोगिता गर्दै आएको सिमरा भेट्रान क्लबले यस वर्षदेखि महिला फुटबलको सुरुवात गरेको हो। क्लबका अध्यक्ष राजकपुर राउतले महिला खेलकुदलाई प्रवर्द्धन गर्न पहिलो पटक महिला फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए। उनले यस प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने प्रतिवद्धता समेत जनाए।

बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले महिला फुटबलको यो पहल गौरवको विषय भएको बताए। उनले पछिल्ला वर्षमा महिला फुटबलले हासिल गरेको उपलब्धिबाट यस खेलप्रति जनचासो बढिरहेको र सिमराको प्रतियोगिताले महिला फुटबलको विकासमा उल्लेखनीय योगदान गर्ने विश्वास व्यक्त गरे।

सिमरामा सन् २०६५ मा पहिलो गणतान्त्रिक राष्ट्रिय महिला फुटबल प्रतियोगिता र २०६९ मा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना भएको थियो। त्यसयता सिमरामा राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता आयोजना नभएको लामो अन्तरालपछि पुनः यो प्रतियोगिता हुन लागेको हो।

विद्यालयस्तरबाट उत्पादन भएका महिला खेलाडीलाई अवसर नपाएको अवस्थामा यो प्रतियोगिता नयाँ आशा बनेको छ। सिमरामा हरेक वर्ष आयोजना हुने जीतपुरसिमरा गोल्डकप प्रतियोगिता देशकै प्रतिष्ठित फुटबल प्रतियोगितामध्ये एक मानिन्छ, जसको १५औं संस्करण सम्पन्न भइसकेको छ।

प्रतियोगिताको सफलताका लागि सिमरा रंगशालामा पूर्वाधार निर्माणको काम समेत भइरहेको छ। मधेश प्रदेशमा आगामी ११औं राष्ट्रिय खेलकुद प्रतियोगिता सिमरामा आयोजना हुने भएपछि रंगशाला निर्माणमा गति आएको छ।

सरकारी मन्त्रीदेखि दलका नेतासम्मले जीतपुरसिमरा गोल्डकपका क्रममा रंगशालाको पूर्वाधार विस्तार आवश्यक रहेको उल्लेख गर्दै सिमरालाई सुविधासम्पन्न खेलकुद केन्द्र बनाउने प्रतिबद्धता जनाउँदै आएका छन्।

Leave A Reply

Your email address will not be published.