Modern technology gives us many things.

देउवा सबैको संरक्षकको भूमिकामा आउनुपर्ने : डा. कोइरालाको सुझाव

विराटनगर, साउन १७:नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबैको संरक्षक बन्न सुझाव दिएका छन्। कांग्रेस विराटनगर–४ वडा समितिद्वारा आयोजित सक्रिय ज्येष्ठ नागरिकहरूसँगको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

नेता कोइरालाले भने, “आजको नेपाली राजनीतिमा शेरबहादुर देउजस्तो वरिष्ठ नेता अरू कोही छैनन्। मेरो सुझाव छ-उहाँले सबै दलका नेताहरुलाई घरमा चियामा बोलाएर देशको समस्या र विकासका विषयमा छलफल गर्नु पर्छ।”

उनले आरोप लगाए कि देउबा सत्तारूढ गठबन्धन बाहिरका नेताहरूसँग भेटघाट गर्न चाहँदैनन्। “नेता भएपछि सबैसँग भेट्नुपर्छ,” कोइरालाले भने, “म आफैँ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रचण्डजी, ओलीजीलगायत सबैसँग भेटिसकेको छु। मसँग सबैसँग भेट्ने बानी छ।”

युवा सहभागिता नभए कांग्रेस कमजोर हुने चेतावनी दिँदै उनले भने, “कांग्रेस कमजोर भयो भने लोकतन्त्र पनि कमजोर हुन्छ। नेपाली जनतालाई अब लोकतन्त्र बिना बस्न सक्दैन। त्यसैले युवालाई कांग्रेसप्रति आकर्षित गराउन आवश्यक छ।”

उनका अनुसार लोकतन्त्रको स्थायित्वका लागि युवालाई कांग्रेससँग जोड्न जरुरी छ। “कांग्रेसलाई बलियो बनाउन युवाबीच लैजानु पर्छ,” उनले जोड दिए, “युवालाई लोकतन्त्र र विकासमा कांग्रेसको भूमिकाबारे बुझाउनु पर्छ।”

कार्यक्रममा उनले कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धाको घमण्डका कारण स्थानीयदेखि संघीय निर्वाचनसम्म पार्टी कमजोर भएको उल्लेख गरे। “जहाँ संगठन बलियो छ, त्यहाँ पनि हार भइरहेको छ,” उनले भने, “कांग्रेसले कांग्रेसलाई नै भोट नदिएकोले हार भएको हो।”

“जसरी कांग्रेसभित्र चुनाव हारे भनेर रिस पोख्ने र आम निर्वाचनमा हराउने प्रवृत्तिले पार्टीलाई क्षति पु¥याएको छ,” कोइरालाले भने, “हामीले एमाले वा अन्य दलसँग प्रतिस्पर्धा गर्नु हो, आफसमा होइन। यदि कांग्रेस एकजुट भई चुनावमा होमिन्छ भने कांग्रेस हार्ने छैन।”

Leave A Reply

Your email address will not be published.