एनसेलले सुरु गर्यो अन्तर्राष्ट्रिय भोल्टे रोमिङ सेवा, भारतबाट सेवा सुरुवात
काठमाडौं, २० साउन :एनसेल आजियाटा लिमिटेडले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय भोल्टे (VoLTE) रोमिङ सेवा सुरु गरेको छ। यो सेवाको सुरुवात कम्पनीले भारतबाट गरेको हो। यस सुविधासँगै एनसेलका ग्राहकहरूले विदेश यात्रा गर्दा पनि फोरजी नेटवर्कमार्फत उच्च गुणस्तरको आवाजमा फोन गर्न र छिटो इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन्।
एनसेलले भारतमा एयरटेलसँगको सहकार्यमा आउटबाउन्ड भोल्टे रोमिङ सेवा प्रदान गर्न थालेको जानकारी दिएको छ। यसअघि इनबाउन्ड रोमिङ सेवा उपलब्ध गराउँदै आएको एनसेलले अब आउटबाउन्डतर्फ पनि सेवा विस्तार थालेको हो।
कम्पनीले अन्य मुलुकमा समेत यो सेवा विस्तार गर्नका लागि जियो (भारत), एटी एन्ड टी (अमेरिका), भोडाफोन (युकेको) र सफ्ट बैंक (जापान) जस्ता अन्तर्राष्ट्रिय मोबाइल नेटवर्कहरूसँग परीक्षणको प्रक्रिया अघि बढाएको छ।
एनसेलले आफ्ना ग्राहकलाई विदेशमा रहँदा पनि सधैं जडानमा राख्नका लागि विश्वव्यापी रोमिङ सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको जनाएको छ। VoLTE रोमिङ सेवा विस्तारसँगै एनसेलले प्रविधिमा नयाँ उचाइ हासिल गर्दै नेपालमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तरमा सुधार ल्याउने विश्वास लिएको छ।