Modern technology gives us many things.

बागमती प्रदेशकाे मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

हेटौंडा साउन २०:बागमती प्रदेशमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ छैटौँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनमा आधारित सरकारको नेतृत्व गर्न लागेका बानियाँले ११० सदस्यीय प्रदेशसभामा ६४ सांसदको समर्थन प्राप्त गरेका छन् । मकवानपुर निवासी बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति समेत हुन् ।

यसअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामाले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । बानियाँ बागमतीको छैटौँ मुख्यमन्त्री हुन् भने मकवानपुरबाट उक्त पदमा पुग्ने दोस्रो व्यक्ति बनेका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै एमालेको भागमा पर्ने मन्त्रीहरूको नाम प्रायः टुंगिएको छ । एमालेबाट अघिल्लो सरकारमा सहभागी एक जना मन्त्री पुनः दोहोरिने पक्का भएको छ भने अन्य पाँच नयाँ अनुहारले मन्त्री बन्ने निश्चितजस्तै देखिएको छ ।

एमालेको तर्फबाट सम्भावित मन्त्रीहरू यस्ता छन् :

किरण थापा मगर – स्वास्थ्य मन्त्री (दोहोरिने)

जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्री

भरतबहादुर केसी – वन तथा वातावरण मन्त्री

मधुसूदन पौडेल – कृषि तथा पशुपक्षी विकास मन्त्री

डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकास मन्त्री

बिन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री

नयाँ गठबन्धनमा बनेको सरकारमार्फत प्रदेशको विकास तथा जनसेवामा गति आउने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.