Modern technology gives us many things.

जनउद्वार केन्द्र मलेसियाद्वारा हरितालीका तीज तथा दर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न

क्वालालम्पुर, मलेसिया :जनउद्वार केन्द्र मलेसियाले पेनाङ राज्यमा आयोजना गरेको हरितालीका तीज विशेष सांगीतिक तथा दर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। नेपाली दिदीबहिनीहरूको मुख्य चाड मानिने हरितालीका तीजलाई परदेशमै पनि उतिकै उल्लासपूर्वक मनाउँदै नेपाली संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा परम्परागत पोशाकमा सजिएका दिदीबहिनीहरूले तीजका भाकामा नाचगान प्रस्तुत गर्दा सम्पूर्ण माहोल झन् उल्लासमय बनेको थियो। तीज गीत र सांगीतिक प्रस्तुतिहरूले मात्र नभई आत्मीय भेटघाट, दर खाने अवसर र शुभकामना आदानप्रदानले कार्यक्रमलाई झनै अर्थपूर्ण बनायो।

विशेष कार्यक्रममा नेपाली राजदूतावास मलेसियाबाट यसोदा अधिकारी, एकता अवस्थि, निर्मला के.डी. आचार्य लगायतको उपस्थिति रहेको थियो। त्यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले पनि कार्यक्रममा सक्रिय सहभागिता जनाए।

कार्यक्रमलाई सफल बनाउन दिनरात खटिएका स्वयंसेवक र आयोजक टीमलाई धन्यबाद दिँदै जनउद्वार केन्द्र मलेसियाका अध्यक्ष केसु थापाले भने, “तीज हाम्रो संस्कृति मात्र होइन, हाम्रो पहिचान पनि हो। परदेशमा रहेर पनि हामीले हाम्रो मौलिकता जोगाउँदै जाने हो भने भविष्यका पुस्ताले पनि गर्वका साथ ‘हामी नेपाली हौँ’ भन्न सक्नेछन्।”

सांगीतिक माहोलसँगै सहभागीहरूले दरका परिकार—दुध, दही, मिठाई, सेल रोटी, मासुजस्ता परम्परागत स्वाद चाखेका थिए। परदेशमै बसेर आमा–बुबाको माया, घरको सम्झना, र गाउँघरको संस्कृति एकै साथ अनुभूत भएको धेरैले प्रतिक्रिया दिएका थिए।

कार्यक्रम आइतबार पेनाङस्थित Sunshine Square Penang मा सम्पन्न भएको हो।

 

Leave A Reply

Your email address will not be published.