Modern technology gives us many things.

फेटामा धान बालीमा खैरा रोग र ब्याक्टेरियल लिफ ब्लाइटको समस्या, प्राविधिकद्वारा व्यवस्थापन उपाय सुझाउन आग्रह

फेटा, बारा : फेटा गाउँपालिकामा हाल धान बालीमा खैरा रोग र ब्याक्टेरियल लिफ ब्लाइट (BLB) जस्ता रोगको समस्या देखिएको छ। गाउँपालिकाको कृषि, पशुपन्छी तथा सहकारी शाखाका कृषि प्राविधिक सञ्जय कुश्वाहाले सोमबार फेटा–३ का किसान मुकेश गिरिको खेत अनुगमन गर्ने क्रममा रोग व्यापक भएको जानकारी दिएका हुन्।

उनका अनुसार धान रोपाइँपछि २–४ हप्ताभित्र पातको फेद र किनारामा पहेँलो देखिनु, मसिना खैरा थोप्ला आउनु र अन्ततः पुरै पात बदामे–खैरो रंगमा परिणत हुनु खैरा रोगका प्रमुख लक्षण हुन्। यसले जराको विकास रोक्ने, गाँज कम लगाउने र अन्ततः बोट मर्ने खतरा रहने उनले बताए।

प्राविधिक कुश्वाहाका अनुसार क्षारीय माटो, फस्फोरस र क्याल्सियमको बढी मात्रा तथा लामो समयसम्म खेतमा पानी जम्नु खैरा रोग फैलिनुको प्रमुख कारण हो। यसको व्यवस्थापनका लागि उनले किसानलाई नाइट्रोजन र फस्फोरस मल सन्तुलित मात्रामा प्रयोग गर्न, खेतमा उचित निकासको व्यवस्था मिलाउन, रोपाइँअघि प्रति हेक्टर २०–२५ किलो जिङ्क सल्फेट हाल्न तथा आवश्यक परे रोपाइँपश्चात जिङ्क सल्फेट र चुनको घोल प्रयोग गर्न आग्रह गरेका छन्।

यस्तै, उनले धानमा देखिने अर्को गम्भीर समस्या ब्याक्टेरियल लिफ ब्लाइट (Xanthomonas oryzae pv. oryzae) रोगप्रति किसानलाई सचेत रहन आग्रह गरे। यस रोगका कारण धानको पात पहेंलो–खैरो हुँदै सुक्ने, उत्पादनमा ठूलो ह्रास आउने र कहिलेकाहीँ सम्पूर्ण बोट नै सुक्ने खतरा हुने उनले बताए।

यस रोग नियन्त्रणका लागि सहनशील जात (Hardinath-1, Sabitri, Radha-4) प्रयोग गर्ने, स्वस्थ बीउ छनोट गर्ने, Trichoderma वा Pseudomonas fluorescens ले बीउ ट्रीट गर्ने, खेतमा लामो समय पानी जम्न नदिने, रोगग्रस्त पात संकलन गरी नष्ट गर्ने तथा आवश्यक परे मात्र Streptocycline वा Copper oxychloride प्रयोग गर्नुपर्ने सुझाव उनले किसानलाई दिएका छन्।

“धानमा रोग नियन्त्रणको सबैभन्दा प्रभावकारी तरिका भनेको सहनशील जात प्रयोग गर्नु, सन्तुलित मल हाल्नु, पानीको उचित व्यवस्थापन गर्नु, रोगग्रस्त पात हटाउनु र विषादी अत्यावश्यक परे मात्र प्रयोग गर्नु हो,” प्राविधिक कुश्वाहाले किसानलाई सुझाए।

 

 

Leave A Reply

Your email address will not be published.