गम्हरियामा तिहारको झिलिमिली उज्यालो, फाउन्डेसनको पहलले नयाँ रौनक
बारा कार्तिक १ : फेटा गाउँपालिका-७ अन्तर्गत रहेका गम्हरिया गाउँमा यस वर्षको तिहार विशेष रूपमा झिलिमिली उज्यालोसहित मनाइँदैछ। गम्हरिया फाउन्डेसनको पहलमा चण्डीमाई मन्दिर वरिपरि सम्म रंगीन बत्ती जडान भएपछि गाउँको वातावरण झनै उत्साहपूर्ण बनेको छ।

फाउन्डेसनका अध्यक्ष इ. दिपक साहको समन्वयमा गरिएको सजावटले गाउँमा नयाँ रौनक थपेको फाउन्डेसन अध्यक्ष सहले जानकारी दिए। दशैंपछि केही शान्त बनेको वातावरण तिहारको आगमनसँगै पुनः उमङ्ग, उल्लास र सांस्कृतिक उत्सवले भरिन थालेको स्थानीयवासीहरू बताउँछन्।

आश्विन शुक्ल पूर्णिमादेखि नै लक्ष्मीपूजाको तयारीसहित तिहारको श्रृंखला सुरु भइसकेको गम्हरियामा यस वर्षको सजावटले समुदायबीचको सहकार्य र एकताको सन्देश दिएको छ। यता, नेपाल प्रहरीले लक्ष्मीपूजाको दिन पटाका प्रयोग नगरी सभ्य र सुरक्षित रूपमा पर्व मनाउन अपिल गरेको छ।
बत्ती सजावटमा फाउन्डेसनका सदस्यहरू राजकिशोर साह,प्रधुमन साह धर्मेन्द्र साह, बृजकिशोर सह, अनिल साह र अन्नद केसरी सक्रिय रूपमा संलग्न रहेका छन्। विशेषतः गम्हरिया चौक र चण्डीमाई मन्दिर क्षेत्र झलमल बत्तीले उज्यालिँदा श्रद्धालु र गाउँलेहरूको आवतजावत बढेको छ।

गम्हरियामा यो तिहार केवल उज्यालोको पर्व मात्र नभई सांस्कृतिक पहिचान, सामुदायिक एकता र समर्पणको प्रतीकका रूपमा मनाइँदैछ। स्थानीयहरूका अनुसार यस्ता पहलले गाउँको सामाजिक सद्भाव र सामूहिक सहभागितामा अझ मजबूती ल्याएका छन्।