बाराको पथलैयामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको पथलैया नजिक डुङ्ग्रे पुलमा आईतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल बिहान करिब २ बजे अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किदा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाईते भएका दुबैजनालाई उपचारका लागि एल. एस .न्युरो अस्पताल परवानीपुर पठाउने क्रममा दुबैजनाको बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख बेदप्रकाश जोशिले जानकारी दिएका छन्।
Related Posts
मृत्यु हुनेमा मोटरसाईकल चालक जितपुर सिमरा उपमहानगरपालिका १५ नयाँबस्ती टोल बस्ने २० वर्षीय साजन तमाङ रहेको र अर्का मृतकको जीतपुरसिमरा उपमहानगरपालिका १४ खयरघारीका २२ वर्षीय किरण मोक्तान रहेका छन् । किरण मोटरसाइकलमा सवार थिए ।
घटनास्थलमा प्रहरी चौकी पथलैयाबाट प्रहरी नायब निरीक्षक बब्बि बम्जनको नेतृत्वमा खटेको टोलीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय सिमराले जानकारी समेत दिएको छ ।