Modern technology gives us many things.

फेटामा युवा नेता उमेश दुबे द्वारा निःशुल्क आँखा शिविर सञ्चालन

बारा, १२ कार्तिक :बारा जिल्लाका चर्चित युवा नेता तथा फेटा गाउँपालिका अध्यक्ष पदका भावी उम्मेदवार उमेश दुबेले मोतियाबिन्दुका कारण कसैले आफ्नो दृष्टि गुमाउन नपरोस् भन्ने उद्देश्यले निःशुल्क आँखा शिविरको आयोजना गरेका छन्।

बुधबार फेटा गाउँपालिका वडा नम्बर ४ का फुलवरिया र बतरा टोलमा सम्पन्न निःशुल्क आँखा शिविरको उद्घाटन गर्दै दुबेले समाजसेवामा आफ्नो योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। उहाँले भने, “मोतियाबिन्दुको कारण कुनै नागरिकले आँखा गुमाउन नपरोस्, त्यसैले यो अभियान सुरु गरिएको हो।”

बिरगंज सामुदायिक आँखा केन्द्र, पर्साको प्राविधिक सहकार्यमा सञ्चालित शिविरको पहिलो दिन फुलवरिया टोलमा २७० जना र बतरा टोलमा १०६ जनाको आँखा परीक्षण गरिएको डा. महेश धामीले जानकारी दिए। परीक्षणमा सहभागीमध्ये ५५ जनामा मोतियाबिन्दुको संक्रमण फेला परेको समेत बताइएको छ।

जनमत पार्टीका केन्द्रीय सदस्य समेत रहेका दुबेले स्थानीय समाजसेवी राजु यादवको विशेष पहल र सहयोगमा सम्पन्न भएको यो शिविर एक सातासम्म निरन्तर सञ्चालन हुने जानकारी दिए। उहाँका अनुसार बिहीबार फेटा गाउँपालिका वडा नं. १ भलुहीमा पनि निःशुल्क आँखा शिविर सञ्चालन हुँदैछ। साथै, गाउँपालिकाको हरेक वडा र टोलसम्म स्वास्थ्य सेवा पुर्‍याउने योजना रहेको उनले बताएका छन्।

फेटा गाउँपालिकामा दुबेको सक्रियता र जनताको सुख–दुःखमा उहाँको निरन्तर उपस्थितिले स्थानीयवासीहरूमा सकारात्मक प्रभाव पारेको छ। स्थनीय बासिन्दाहरूले भनेका छन्, “दुबे जस्ता जनसेवी नेताको जित आगामी स्थानीय तह निर्वाचनमा सुनिश्चित छ।”

Leave A Reply

Your email address will not be published.