एनपीएल क्रिकेटमा जनकपुर बोल्ट्सको पहिलो जीत, चितवन राइनोज ६ विकेटले पराजित
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमै ४ विकेटको क्षतिमा भेटायो।
जनकपुरका अनिल शाह र माझ सदाकत विजयका प्रमुख नायक बने। सदाकतले ६३ रन जोड्दा शाहले ६१ रन बनाए। चितवनका सोहिल तन्विर, कमलसिंह ऐरी र अमरसिंह रौटेलाले एक–एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रनको प्रतिस्पर्धात्मक बोर्ड राखेको थियो। चितवनका डेविड मलानले ५४ बलमा ८० रन र अर्जुन साउदले ३९ बलमा ५२ रनको अर्धशतकीय पारी खेले।
पहिलो संस्करणको विजेता जनकपुरले पाँच खेलमध्ये पहिलो जीत दर्ता गर्दै तालिकाको सातौँ स्थानमा रहेकाे छ। यस जीतसँगै जनकपुरको ‘प्लेअफ’मा प्रवेश गर्ने गणितीय सम्भावना जीवित छ। पाँचमध्ये दुई खेल जितेको चितवन चौथो स्थानमा कायम छ।
आजको दोस्रो खेलमा दिउँसो ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्स आमने–सामने हुनेछन्। मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगिता आगामी २७ गतेसम्म चल्नेछ।
wtKFqudTxFDGgBnScK