जनकपुरधाममा मुख्यमन्त्री सरोज कुमार यादव आज विश्वासको मत लिने
मधेस प्रदेशसभा बैठक आज बिहान साढे ८ बजे बस्ने भएको छ। सर्वोच्च अदालतले सोमबार साँझ २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मतका लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन्।
प्रदेशसभामा कूल १०७ सांसद रहेका छन्, जसमा सरकार गठनका लागि कम्तीमा ५४ मत आवश्यक पर्छ। एमालेसँग २५ सांसद छन्, तर तीमध्ये एक जना निलम्बित छन्। नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद एमाले पक्षमा देखिए पनि राप्रपाले आफ्ना मन्त्री कञ्चन बिच्छामाथि कारबाही अघि बढाइसकेको छ, जसले शक्ति सन्तुलनलाई अन्यौलमा पारेको छ।
यसअघि एमालेले सबैभन्दा ठूलो दलको हैसियतमा प्रदेश प्रमुख र सभामुखको सहयोगमा संविधानको धारा १६८(३) अनुसार सरकार गठन गरेको थियो। तर उक्त प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै सातदलीय गठबन्धन सर्वोच्च पुगेपछि अदालतले मुख्यमन्त्रीलाई विश्वासको मत लिन आदेश दिएको हो।
आजको प्रदेशसभा बैठकले मधेस प्रदेशको राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।