रेडियो वीरगंजको २३औँ वार्षिकोत्सवमा बृहत रक्तदान, २०८ जनाद्वारा रक्तदान
रेडियो वीरगंज ९९ मेगाहर्जको २३औँ वार्षिकोत्सवको अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगंजको सहकार्यमा आयोजित बृहत रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। मुर्ली बगैचास्थित रेडियो परिसरमा सम्पन्न कार्यक्रममा २७ महिलासहित जम्मा २०८ जनाले रक्तदान गरेका छन्।
कार्यक्रमको अध्यक्षता रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले गरेका थिए। सो अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगंजका दूत डी एस मिना, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, युवा नेता ओमप्रकाश सराफ, नेपाल रेडक्रस सोसाइटी रेशमकोठि उपशाखाका स-कोषाध्यक्ष अभिलाष गुप्ता, ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतान लगायत विभिन्न मिडियाका पत्रकार तथा संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
त्यसैगरी संघीय सरकारका पूर्व कानुन मन्त्री अजय चौधरी, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, पूर्व मेयर नितेन्द्र साह, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठक, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता नेजामुदिन सम्मानी, नेपाली कांग्रेसका युवा नेता लुकेश सिंह तथा अनिल कुमार साह लगायतको पनि विशेष उपस्थितिले कार्यक्रम आणखी प्रभावकारी बनेको आयोजकले जनाएको छ।
रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभ राज पाण्डेको नेतृत्वमा दक्ष प्राविधिक टोलीले सफलतापूर्वक सञ्चालन गरेको थियो।
कार्यक्रमका अध्यक्ष ध्रुव साहले रक्तदानलाई मानवसेवा र जिम्मेवारीको उत्कृष्ट उदाहरण भन्दै भने,
“समाजसेवा नै रेडियो वीरगंजको मूल मूल्य र पहिचान हो। २३औँ वार्षिकोत्सवमा रक्तदानजस्तो महत्वपूर्ण अभियन्ता आयोजनामा सहभागी हुन पाउँदा हामी गौरवान्वित छौँ। २०८ जना दाताहरूको सहभागिताले वीरगंजको मानवता र एकताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ। भविष्यमा पनि समाजहितका कार्यक्रमलाई निरन्तरता दिनेछौँ।”
