मङ्सिर २१ काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारमा संरचनाको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेकी हुन् । भेटका क्रममा निर्वाचनको तयारी लगायत मुलुकको समसामयिक विषयमा कुराकानी भएको थियो । भेटपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधिसभाको निर्वाचन गर्न राम्रो तयारी गर्न सुझाव दिएको बताइन् । प्रधानमन्त्री कार्कीले उक्त घटनापछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नुपरेको जानकारी दिँदै सरकारले ती घटनाका विषयमा छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् ।
भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको तयारीलाई समान प्राथमिकताका साथ काम गरिरहेको कार्कीको भनाइ छ । उनले पूर्वराष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन पनि आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै भेटवार्तापछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले गरिरहेको कामका बारेमा प्रधानमन्त्रीले चर्चा गरेको र पूर्वराष्ट्रपति भण्डारीले फागुन २१ गतेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सुझाव दिएको बताए ।