Modern technology gives us many things.

संघीय संसद् सेवा दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै

मङ्सिर २८, काठमाडौँ : निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते मनाइने संघीय संसद् सेवा दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। विसं २०५८ मा निजामती सेवाबाट छुट्टै संसद् सेवा गठन भएपछि संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।

दिवसका अवसरमा संघीय संसद् सचिवालयले विविध कार्यक्रमको आयोजना गरेको छ। नेपालको संविधानको धारा २०७ अनुसार संघीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने व्यवस्था छ। सोही व्यवस्थाअनुसार संघीय कानुनबमोजिम सचिवालयको स्थापना तथा सञ्चालन हुँदै आएको छ।

निजामती सेवा ऐनबाट अलग गरी छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवाका रूपमा स्थापित छ। संसदीय अभ्यासलाई थप सुदृढ र प्रभावकारी बनाउने लक्ष्यसहित संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाइने गरिएको हो।

राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको संघीय संसद्लाई प्रशासनिक तथा प्राविधिक सहयोग पुर्‍याउँदै आएको संसद् सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानुन निर्माण प्रक्रियामा अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायतको व्यवस्थापन संघीय संसद् सचिवालयको प्रमुख कार्यक्षेत्र रहँदै आएको छ।

संसद् सेवाको विशिष्ट कार्य प्रणालीका कारण विधायिकी कार्य र संसदीय कामकारबाहीमा निरन्तर र प्रभावकारी सहयोग पुगेको भन्दै सरोकारवालाहरूले संसद् सेवाको भूमिकाको प्रशंसा गरेका छन्।

Leave A Reply

Your email address will not be published.