पिकअप गाडीबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद
पर्सा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ निवासी सुवराज श्रेष्ठ रहेको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार श्रेष्ठले चलाइरहेको बा.२१ च ७८५५ नम्बरको पिकअप गाडी लाई वीरगन्ज महानगरपालिका–१७ स्थित कोनियाबाट अलौतर्फ जाँदै गरेको अवस्थामा सोमबार राति करिब ८ बजे शंका लागेर जाँच गरिएको थियो। जाँचका क्रममा गाडीको पछाडिको भागमा बोराभित्र लुकाइ राखिएको १२ वटा पोकामा १७६ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
उक्त गाँजा प्रहरी चौकी सिर्सिया ड्राइपोर्टका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक श्यामबाबु यादव को नेतृत्वमा खटिएको प्रहरी टोलीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सामा मंगलबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिँदै प्रहरी निरीक्षक अमृत बस्नेतले लागुऔषध तस्करी नियन्त्रणका लागि नियमित चेकजाँच र निगरानी कडा बनाइएको बताएका छन्। उनका अनुसार सीमा क्षेत्र र प्रमुख आवागमन मार्गहरूमा विशेष निगरानी राखिँदा अवैध लागुऔषध ओसारपसारमा संलग्न गिरोहहरू नियन्त्रणमा आउन थालेका छन्।
स्थानीय बासिन्दाका अनुसार वरिष्ठ प्रहरी नायब निरीक्षक यादव सिर्सिया ड्राइपोर्टमा आएपछि उक्त क्षेत्र हुँदै हुने अवैध तस्करीका गतिविधिमा उल्लेख्य कमी आएको छ। पछिल्लो समय सुरक्षा व्यवस्था कडा बनाइए सँगै लागुऔषध तथा अन्य अवैध कारोबार नियन्त्रण तर्फ सकारात्मक परिणाम देखिन थालेको प्रहरीको दाबी छ।
पक्राउ परेका सुवराज श्रेष्ठलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र उनीमाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।