श्री बेँगा साह माध्यमिक विद्यालयमा कक्षा १२ द्वारा आयोजित स्वागत कार्यक्रम सम्पन्न
प्रसौनी गाउँपालिका–बारामा अवस्थित श्री बेँगा साह माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा मंगलबार स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद प्रसाद जैसवाल प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।
कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि जैसवालले पानसमा बत्ती बालेर गरेका थिए। सो अवसरमा उनले विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र लक्ष्यप्रति प्रतिबद्ध रहन आग्रह गर्दै शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको बताएका छन्। गाउँपालिकाले शैक्षिक विकासलाई प्राथमिकतामा राख्दै विद्यालयहरूको भौतिक तथा शैक्षिक सुधारका लागि निरन्तर सहयोग गर्दै आएको पनि उनले उल्लेख गरे।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्रीमती किरण देवी साह बिशिष्ट अतिथिका रूपमा सहभागी भई विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक उत्तरदायित्वको भावना विकास हुने बताएकी थिइन्।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवले शिक्षा क्षेत्रमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै विद्यालय–समुदाय सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी तथा स्थानीय समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, स्वागत गीत तथा विविध रचनात्मक कार्यक्रम प्रस्तुत गरी उपस्थित सबैको मन जितेका थिए। समग्रमा कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।