युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट
पौष १३, एजेन्सी : युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको चेतावनी जारी भइरहेका बेला शनिबार बिहान शक्तिशाली विस्फोटहरू भएका छन्। किएभका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममार्फत राजधानीमा विस्फोट भएको जानकारी दिँदै नागरिकहरूलाई तोकिएका सुरक्षित स्थानमा रहन आग्रह गर्नुभएको छ। उहाँका अनुसार घटनाबारे थप विवरण संकलनका लागि एयर डिफेन्स फोर्स सक्रिय रूपमा काम गरिरहेको छ।
यसअघि युक्रेनको वायु सेनाले देशव्यापी हवाई आक्रमणको सम्भावना रहेको भन्दै नागरिकहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन निर्देशन दिएको थियो। सेनाले सामाजिक सञ्जालमार्फत ड्रोन र मिसाइलहरू राजधानी किएभसहित युक्रेनका विभिन्न क्षेत्रमा प्रवेश गरिरहेको जानकारी दिएको थियो।
किएभमा रहेका एएफपी संवाददाताहरूले पनि ठूलो आवाजका विस्फोटहरू सुनेको पुष्टि गरेका छन्। विस्फोटका करिब तीन घण्टापछि किएभ क्षेत्रीय सैन्य प्रशासनले ड्रोनको आगमनका कारण हवाई सुरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ।
यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने कार्यक्रम तय भएको छ। भेटमा सन् २०२२ देखि जारी संघर्ष अन्त्य गर्ने प्रस्तावित योजनाबारे छलफल हुने जनाइएको छ।