Modern technology gives us many things.

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, केही स्थानमा हल्का वर्षा र तराईमा हुस्सु

काठमाडौँ :गत साता देशका केही स्थानमा हल्का वर्षा मापन भएको छ भने तराईका अधिकांश भू–भागमा दिनभरि हुस्सु तथा कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कोशी प्रदेशका सुनसरी र तेह्रथुम जिल्ला तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको हो।
महाशाखाका अनुसार तराईका धेरै केन्द्रहरूमा अधिकतम तापक्रम सरदरभन्दा कम मापन भएको छ भने अधिकांश स्थानमा न्यूनतम तापक्रम सरदरभन्दा केही बढी देखिएको छ। यसैगरी देशका हिमाली भू–भागमा साप्ताहिक औसत न्यूनतम तापक्रम सरदरभन्दा कम रहेको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा सबैभन्दा कम –६.७ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको महाशाखाले जनाएको छ।
साताभरि देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिएको छ। यसका कारण साताको सुरुवातमा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, बागमती प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।
पहाडी भू–भागमा साताभरि मौसम आंशिक बदली रहने सम्भावना छ भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। तराई भू–भागमा भने साताभरि हुस्सु तथा कुहिरो लागिरहने देखिएको छ। बिहानको समयमा लाग्ने हुस्सु साताको मध्य र अन्त्यतिर दिउँसोपछि क्रमशः सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस साता देशका अधिकांश स्थानमा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नआउने र अधिकतम तापक्रम केही घट्न सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

Leave A Reply

Your email address will not be published.